नविन्द्रराज जोशीको परिवारबाट सरकारकाे सहयाेग अस्वीकार
नविन्द्रराज जोशीको परिवारले सरकारले गर्ने भनेको १० लाख रुपैयाँ सहयोग अस्वीकार गरेको छ । बिरामी भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेको हो ।
जोशीको परिवारले सहयोग रकम नलिने घोषणा गरेको उनका स्वकीय सचिव पुष्कर पाण्डेले बताए । सरकारले दिने भनेको रकम जोशी परिवारले लिन अस्वीकार गरेको पाण्डेले बताए ।
गएको फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो । उनको अहिलेसम्म होस खुलेको छैन । भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।
जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

बाइलाइन नेपाल











