यातायात व्यवसाय कम्पनी दर्ता गर्ने नीति खारेज हुन्छ : बानियाँ
हेटौंडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले यातायात व्यवसायीलाई कम्पनीमा जानुपर्ने नीति बनाएर सरकारले समस्यामा पारेको आरोप लगाएका छन् । उनले सो नीति गलत भएको भन्दै चाँडै यातायात व्यवसायी कम्पनीमा दर्ता हुनुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य हुने बताए ।
हेटौंडामा शनिबार भएको पुरानो नारायणी यातायात कम्पनी प्रा.लि. र नारायणी संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकार कामभन्दा बढी कुरा गर्नमा व्यस्त रहेकाले व्यवसायीको हित विपरीत नीति ल्याइएको आरोप लगाए ।
सो नीतिका कारण कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको भन्दै उनले नेपाली काँग्रेसको सरकार आएपछि उक्त नीति खारेज गर्ने बताए ।
उनले मालवाहक सवारीहरुको नवीकरण, राजस्व तथा रुट परमिटका काम निकै झन्झटिलोे भएको भन्दै सरकारले तत्काल रुट परमिटलाई खारेज गरेर राजस्व र नवीकरण गर्ने समयावधिलाई बढाउनुपर्ने बताए । व्यवसायीको समस्या नबुझ्ने वर्तमान सरकारले जनताको हितमा काम गर्न नसक्ने उनको भनाइ थियो ।
उनले यातायात व्यवसायीले भोग्दै आएको पीडा आफुले नजिकबाट नियालेको भन्दै काँग्रेसले सरकारको नेतृत्व पाएको एक महिनाभित्र रुट परमिट खारेज गरी राजस्व र नवीकरण गर्ने समयावधि ५ वर्षको बनाउने बताए । सभालाई सम्बोधन गर्दै बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) र मुनु सिग्देलले सरकारले हतारमा नीति बनाउँदा व्यवसायीहरु मर्कामा परेको बताए ।
व्यवसायीको सुविधाका लागि भन्दै ल्याएको नीतिले व्यवसायीहरु झनै पीडित बनेको उनीहरुको भनाइ छ ।

बाइलाइन नेपाल











