प्रतिनिधि सभाले विस्तारै लय समात्ने सभामुखको विश्वास
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने बताएका छन् । शनिबार जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
संसद छलफल, बहस, वादविवाद र सम्वाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरूको सामना गर्न प्रतिकूलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेको बताए । संसदको अनेकौं चुनौतीहरूको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाइ छ । उनले भने, –‘अलिकति समस्याहरु छन् । त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ । तर हिजोबाट तपाईंहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जिवन्त र जनमुखी हुने नै छ । हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौँ । संसदको मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगीरथ प्रयत्न गर्दैछौँ र त्यसपछि बनेको कानुनहरु कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ । चुनौतीहरु अवश्य छन् । समस्याहरु अवश्य छन् । नयाँ नयाँ उपायहरु प्रतिकूलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेका छौँ र बिस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छु की त्यसले फेरी गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ । संसद भनेको छलफल, वहस, वादविवाद, सम्वाद हुँदै अगाडी जाने कुरा हो । वादविवाद छ अब सम्वाद हुँदै अगाडी बढ्छ ।’
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले राजनीतिक पार्टीहरू बीच सहमती र सहकार्य हुन नसकेको भन्दै सहमती साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताए । सांसद प्रधानले राजनीतिक सहमती नभए मुलुकमा अस्थिरता हुनाले देशमा विकास र शान्ति नहुने पनि बताए ।

बाइलाइन नेपाल











