जबर्जस्ती करणीको मुद्दा मिलाउने भन्दै रकम लिने कानुन व्यवसायी पक्राउ
पोखरा । पोखरामा जबर्जस्ती करणीको मुद्दा मिलाइदिने भन्दै रकम लिएका एक कानुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणीका आरोपितको बयानका आधारमा प्रहरीले ती कानुन व्यवसायीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मुद्दा मिलाइदिने भन्दै आरोपितको परिवारसँग रकम लिने कार्यमा संलग्न भएको आरोपमा अधिवक्ता लक्ष्मीप्रसाद घिमिरेलाई पक्राउ गरिएको हो ।
पोखराकी एक १७ वर्षीया बालिकालाई पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा तीन साता अघि पक्राउ परेका ५७ वर्षीय पुरुषको मुद्दा मिलाइदिने भन्दै परिवारसँग मोटो रकम लिएको आरोपमा गत फागुन १९ गते दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
एक करोड रुपैयाँको डिल गरेर किस्ताबापत लिएको १२ लाखको चेक र एक लाख १० हजार नगदसहित पोखरा–८ बस्ने सूर्यलाल खड्का र धादिङ गंगाजमुना गाउँपालिका–१ घर भई पोखराको हेमजा बस्ने कमानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका सूर्यलाल खड्का र कमानबहादुर तामाङमाथि थप अनुसन्धानका क्रममा अधिवक्ता घिमिरेको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
पोखरामा ओम ल फर्म सञ्चालन गर्दै आएका घिमिरेलाई बिहीबार प्रहरीले पक्राउ गरी जिल्ला अदालत कास्कीबाट चार दिनका लागि म्याद थप गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रवक्ता डिएसपी सुवास हमालका अनुसार उनीहरुले जबर्जस्ती करणी मुद्दाका पक्षलाई प्रहरी, वकिल र अदालतसँग सेटिङ भएको बताउँदै एक करोड रकम दिए मिलाउन सकिने भन्दै झूटा आश्वासन दिएर किस्ताबापतको केही रकम असुल गरेका थिए ।
लेकसाइडका होटेल र पामेतिर लगेर बारम्बार करणी गरेको भन्दै बालिकाले उजुरी गरेपछि कास्की प्रहरीले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

बाइलाइन नेपाल











