बालुवाटार हिँडेका माधव-झलनाथ पक्षका सांसद बाटैबाट फिर्ता
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा भाग लिन बालुवाटार हिँडेका माधव नेपाल पक्षका सांसदहरु बाटैबाट फर्किएका छन् । सो पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेका थिए । तर, उनीहरु पुन हेरिटेज गार्डेनमै फर्किएका छन् । ‘हामी बालुवाटार जान हिडेँका थियौं, बाटोमै यताबाट फोन आयो अनि सिंहदरबारबाटै फर्कियौँ’, सांसद लक्ष्मी चौधरीले रातोपाटीसँग भनिन्, ‘कमरेडहरुले आउनु भनेपछि फर्केका हौँ।’
यसअघि माधव–झलनाथ पक्षका सांसदहरुको बैठकले बालुवाटार बैठकमा हाजिर गरेर फर्कने निर्णय गरेको थियो । सांसद कृष्णभक्त पोखरेलले उक्त बैठकमा हाजिर लगाएर बहिस्कार गरिने जानकारी दिएका थिए । हेरिटेज गार्डेनमा फर्किएर उनीहरुले शीर्ष नेतासँग छलफलमा बसेका छन् ।
उता बालुवाटारमा बोलाएको दलको बैठक अझै सुरु हुन सकेको छैन । सांसदहरु बालुवाटार प्रवेश गर्ने क्रम जारी रहेका बालुवाटारबाट रातोपाटीकर्मी शम्भु दंगालले जनाएका छन् ।

बाइलाइन नेपाल











