आर्सनलले लय समात्न जरुरी छ– थिएरी हेनरी
एजेन्सी । आर्सनलले इंलिस प्रिमियर लिगका सबै टोलीलाई हराउन सक्ने सामर्थ्य राख्ने थिएरी हेनरीले बताएका छन् । तर, यसका लागि क्लबले स्थिर प्रदर्शन गर्नु आवश्यक रहेको उनले बताए । लिगमा आइतबार आर्सनलले टोट्टेनह्यामलाई २–१ ले हरायो । यसका बाबजुद आर्सनल लिगमा १० औं स्थानमै सिमित छ । हारका बाबजुद आर्सनल भन्दा चार अंक धेरै बटुलेर टोट्टेनह्याम आठौं स्थानमा छ । चौथो स्थानमा रहेको चेल्सीभन्दा आर्सनल १० अंकले पछि छ । यद्यपि, चेल्सीले आर्सनलभन्दा एक खेल बढी खेलेको छ । आगामी वर्षको च्याम्पियन्स लिगमा छनोट हुनका लागि आर्सनलले शीर्ष चारभित्र रहेर प्रिमियर लिग यात्रा टुंग्याउनुपर्छ ।
हेनरीको बुझाईमा आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले क्लबलाई राम्रो दिशातर्फ लागिरहेका छन् । यद्यपि, क्लबले स्थिर प्रदर्शन गरेको हेर्ने उनको रहर छ । १९९९ देखि २००७ सम्म आर्सनलबाट खेलेका हेनरी यस क्लबका अहिलेसम्मकै सर्वाधिक गोलकर्ता तथा पूर्व कप्तान हुन् । २०१२ मा उनी फेरि छोटो समयका लागि क्लबमा फर्किएका थिए । उनले आर्सनलका लागि १ सय ७५ प्रिमियर लिग गोल गरेका छन् ।

बाइलाइन नेपाल











