पोखरा लेखनाथमा ‘खास्टेताल महोत्सव’ हुने
पोखरा । पोखराको लेखनाथमा खास्टे ताल महोत्सव हुने भएको छ । लामो समयदेखि कोरोना संक्रमण (कोभिड १९) ले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल रोकिएपछि पर्यटक प्रबद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।
‘खास्टे न्यूरेनी जाँउ तालमा रमाऔँ’ भन्ने मुल नाराका साथ पोखरा २६ लेखनाथमा यहि चैत्र १२ देखि २२ गतेसम्म प्रथम खास्टे ताल महोत्सवको आयोजना गरिएको छ । कोरना भाइरसका कारण स्थानिय स्तरमा कुनै पनि मेला महोत्सव नभएको र आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने भएकाले न्यूरेनीताल किरानाको खरानेफाँटमा महोत्सवको आयोजना गरिएको खास्टे तथा न्युरेनी ताल संरक्षण समितिका अध्यक्ष हरि प्रसाद अधिकारीले बताए ।
उनले महोत्सव सफल पार्नका लागि ताल संरक्षण समितिसगं आवद्ध सात सय ३२ आजीवन सदस्य र विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिसहित १ हजार ५ सय १ सदस्य मुल समारोह समिति गठन गरिएको बताए । अध्यक्ष अधिकारीले तालको संरक्षण गर्दै स्थानीयको आय आर्जनका लागि माछा पालन समेत गरिदै आएको बताए।
न्यूरेनीतालको प्रचार प्रसारमा समेत सहयोग पुग्ने गरि महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष अधिकारीको भनाइ छ ।महोत्सवलाई सफल बनाउन कुनै कसर बाँकी नराखिने पोखरा महानगरपालिका २६का वडा अध्यक्ष नारायण प्रसाद वरालले बताए । महोत्सवलाई सफल पार्न विभिन्न ३२ वटा उपसमिति गठन गरी आवस्यक तयारी अगाडी बढाएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

बाइलाइन नेपाल











