एमालेमा लागेका नेताहरुलाई कारबाहीका लागि माओवादी केन्द्रले औपचारिक पत्र पठाउने

बाइलाइन नेपाल
१ चैत्र २०७७, आईतवार १६:४९

काठमाडौँ– माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेतिर गएका नेताहरूलाई कारबाहीका लागि औपचारिक पत्र पठाउने भएको छ ।अनुशासनको कारबाही अन्तर्गत पार्टीको केन्द्रीय कार्यालयले २४ घण्टाभित्र स्पष्टीकरण सोधेकोमा त्यसको जवाफ नआएपछि औपचारिक रुपमा पत्र पठाउने निर्णय भएको हो ।

पार्टी छाडेको हो/होइन भनेर स्पष्ट गर्न माओवादी केन्द्रले नेताहरुलाई भनेको छ । कारबाही प्रक्रिया अघि बढाउने भनिएपनि कानुनी प्रश्नसमेत उठ्न सक्ने भएकाले विधि पुर्‍याउन औपचारिक पत्र पठाउन लागिएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् । पार्टीका तर्फबाट मन्त्री पदमा भएकाहरुलाई राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाउने निर्णय पनि भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि, शनिबार पार्टीको केन्द्रीय कार्यालयले पनि मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

यसैबीच, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने भइनसकेको प्रवक्ता श्रेष्ठले बताए । आइतबारबाट शुरू भएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । भोलिको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आ–आफ्नो भनाइ राख्ने कार्यसूची छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*