माओवादी केन्द्रको विश्लेषण: ओली सरकारको विकल्पमा नयाँ सरकार गठन

बाइलाइन नेपाल
१ चैत्र २०७७, आईतवार १६:३३

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको प्रतिगामी सरकारको विस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार बसेको नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले अहिले पहिलो र तात्कालिक कार्यभार नै ओली नेतृत्वको सरकार विस्थापन गर्दै नयाँ संयुक्त सरकार गठन गर्नु रहेको बताएका हुन् ।

पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन र सांगठनिक प्रक्रियाबारे छलफल गर्न बसेको माओवादी केन्द्रको बैठकमा शीर्ष नेताहरुले एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी नेकपामाथि स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले हमला गरेकाले पार्टी एकताले पूर्णता पाउन नसकेको निष्कर्ष सुनाएका हुन् । माओवादी केन्द्रका नेताहरुले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको पनि बताएका छन् ।

‘एकतापछि पार्टीमा क्रान्तिकारी प्रवृत्ति हावी गर्ने हाम्रो चाहाना थियो । तर यसमा प्रतिक्रान्तिकारीहरुले अनेक षड्यन्त्र गरे र अन्त्यमा पार्टी एकता नै भंग हुन पुग्यो । निर्वाचन आयोगले निर्णय गर्न लागेको बेलामा सर्वोच्च अदालतले माग्दै नमागेको फैसला सुनायो र एमाले र माओवादी व्युँत्यायो’ घटनाक्रमबारे नेताहरुले बैठकमा विश्लेषण सुनाएका थिए ।

‘प्रतिगामी र बिसर्जनवादी कोणबाट पार्टीमा हमला भयो’ बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘प्रतिगामी कदम असफल पार्न हामीले संघर्ष गर्यौ । सर्वोच्च अदालतको पछिल्लो फैसला षड्यन्त्रको योजनाअन्तर्गत नै भएको हो भन्ने हाम्रो ठहर छ ।’

बैठकमा बोल्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अधिकांश नेताहरुले क्रान्तिकारी पार्टी बनाउन खोजेपनि केपी ओलीले क्रान्तिकारी पार्टी बन्ने देखेर लगातार आक्रमण गरेको नेताहरुले ब्रिफिङ गरेका छन् । नेताहरुले यस्तो आक्रमणले कम्युनिस्ट आन्दोलनको एकीकरण वा विकास र अग्रगमनको यात्रामा बाधामात्र नभएर घट्नाक्रमहरुले बैदेशिक हस्तक्षेपसँग पनि सम्बन्धित भएको पुष्टि गरेको बताएका छन् । ‘नेपालको सवै प्रक्रियामा आफ्नो स्वामित्व हुनुपर्छ भन्ने विदेशी शक्तिको चाहाना छ ।

नेपालका कम्युनिष्टहरु मिलेपछि त्यो चाहाना पुरा नहुने भएपछि केपी ओलीलाई निमित्त नायक बनाइयो । संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरपेक्षताको विरोधमा प्रतिक्रान्तिकारीको नयाँ नायक खोजेर ल्याइयो’, प्रवक्ता श्रेष्ठले बैठकमा विश्लेषण गर्दै भने, ‘अब हाम्रो पहिलो राजनीतिक कार्यभार केपी ओलीको सरकार ढालेर नयाँ सरकार बनाउनु हो ।’

कसरी नयाँ सरकार ?

बैठकमा ओली नेतृत्वको सरकार विस्थापन गर्न माओवादी केन्द्र एक्लैले गर्न नसक्ने भएकाले खासगरी नेपाली काँग्रेस र जसपासँग सहकार्य गर्न जरुरी रहेको पनि नेताहरुले बताएका छन् । ‘यसमा हामी एक्लैले सक्दैनौ । कम्तिमा दुईवटा शक्ति चाहिन्छ । काँग्रेस, जसपा र माओवादी एक ठाउँमा ल्याएर संयुक्त सरकार निर्माणको पहल भइरहेको छ’ प्रवक्ता श्रेष्ठले आफ्नो धारणा सुनाएका थिए ।

त्यसक्रममा पहिला नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाउ भन्दा काँग्रेसले नमाने पनि अहिले काँग्रेस सकारात्मक भएको भन्दै सहकार्यका लागि जसपासँग पनि विभिन्न ढंगले कुराकानी र छलफल सकारात्मक ढंगले अघि बढिरहेको नेताहरुले बताएका छन् ।

‘संयुक्त सरकार बनेपछि सकेसम्म २ वर्ष नै यो संसद टिकाउने हाम्रो उद्देश्य छ’, नेतृत्वको ब्रिफिङ सुनेका एक केन्द्रीय सदस्यले भने, ‘अहिलको अवस्थामा पार्टी निर्माणको प्रक्रिया कसरी अघि बढाउने भन्ने दोस्रो प्रश्न छ । यसमा समाजवादी क्रान्तिकारी कार्यक्रम लागू गर्ने वैचारिक राजनीतिक कार्यदिशा हो ।’

त्यस्तै पार्टी निर्माणको हकमा ५ हजारको केन्द्रीय समिति बनाउनु नहुने भन्दै नेताहरुले विधि, पद्दति पालना गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिएका थिए । ‘नेताले भन्दैमा एसएस र नो नो भनेर पार्टी बन्दैन । तत्काल विधानको अवस्था प्रस्ट पार्दै संगठनात्मक अवस्था क्लियर गर्दै र व्यक्तिवाद र गुटवादलाई अन्त्य गर्न जरुरी छ’ नेता श्रेष्ठले आफ्नो धारणा सुनाएका थिए ।

त्यस्तै एमालेसँगको पार्टी एकता सो पार्टीका नेताहरुको भूमिकामा भर पर्ने तर क्रान्तिकारी पार्टी बनाउने सर्तमा सबैसँग सम्वाद अघि बढाउने माओवादी केन्द्रको भनाई छ ।

प्रदेश इन्चार्जको रिपोर्टिङ

बैठकमा प्रदेश इन्चार्जहरुले पार्टीको पछिल्लो अवस्थाबारे रिपोर्टिङ गरेका थिए । प्रदेशको रिपोर्टिङ गर्दै प्रदेश १ का सहइन्चार्ज सावित्रिकुमार काफ्लेले माओवादी केन्द्रका प्रदेश १ का २ जना एमालेतर्फ लागेको जानकारी गराएका थिए । त्यस्तै प्रदेश २ का विश्वनाथ शाहले ३ जना सांसद प्रभु साह, ज्वाला कुमारी साह र टेकबहादुर वलाम्पाकीबाहेक सवै केन्द्रीय सदस्य र सांसदहरु माओवादी केन्द्रमै रहेको रिपोर्टिङ गरेका थिए ।

वागमती प्रदेशका नारायण दाहालले प्रदेश सांसद दावा तामाङ, विष्णुलाल अधिकारी र कमल चौलागाईंबाहेक अन्य नेता माओवादीमै रहेको जनाएका थिए । गण्डकी प्रदेशका हितराज पाण्डेले स्याङजाका एक प्रदेश सांसदबाहेक कुनै पनि नेता एमालेतिर नलागेको बताएका थिए ।

लुम्बिनी प्रदेशका ओनसरी घर्तीले संघीय सांसद टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्का एमालेतिर लागेपनि अझैपनि माओवादी एक्लै चुनाव लडेपनि ४ निर्वाचन क्षेत्रमा चुनाव जित्ने र अरूसँग मिल्दा ८ वटा स्थानमा जित्न सकिने भन्दै प्रचण्डपथ हटाउनु गल्ती भएको बताइन् ।

कर्णाली प्रदेशका सचिव मायाप्रसाद आचार्यले एक सांसद एमालेतिर लागेपनि अन्य केन्द्रीय सदस्यहरु माओवादी केन्द्रमै रहेको बताए । सुदूर​रपश्चिम प्रदेशका सचिव नेपबहादुर चौधरीले १४ केन्द्रीय सदस्यमध्ये एकजना लेखराज भट्टमात्रै एमालेतिर लागेको जानकारी गराएका थिए । उपत्यका समन्वय समितिका तर्फबाट लीलामणि पोखरेल तथा सम्पर्क समितिका तर्फबाट प्रह्लाद बुढाथोकी र प्रवास कमिटीका तर्फबाट युवराज चौलागाईंले रिपोर्टिङ गरेका थिए ।

माओवादी केन्द्रको बैठक सोमबार ११ बजे पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकको कार्यसूची अनुसार केन्द्रीय कार्यालय र प्रदेशका तर्फबाट रिपोर्टिङ भएको भन्दै संगठनात्मक काम, पार्टीको विधान परिमार्जन, राष्ट्रिय भेला र विविध अन्तर्गतको कार्यसूचीअनुसार छलफल सुरु भएको बताए ।

बैठकको सुरुमै अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक अवस्थाबारे संक्षिप्त धारणा राखेका थिए । पार्टी केन्द्रका तर्फबाट प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता र अहिलेसम्मको अवस्थाबारे चर्चा गरेका थिए । सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*