किशोरीले प्रेमीसँगको भेट लुकाउन खोज्दा…

बाइलाइन नेपाल
१ चैत्र २०७७, आईतवार १५:४३
Dating couple scene, love confession

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ घर भएकी किशोरीले प्रेमीसँगको भेट लुकाउन परिवार र प्रहरीलाई ढाँटेकी छिन् । शुक्रवार साँझ घरबाट कलम किन्न निस्केकी १४ वर्षीया किशोरी लामो समय नआएपछि परिवारले फोन गर्न थाले । तारन्तार फोन आएपछि उनले भनिन्–‘मलाई अपहरण गरेर लगे, सामूहिक रुपमा बलात्कृत भएँ ।’

परिवारले प्रहरीलाई खबर गरे । कञ्चनपुर प्रहरी अनुसन्धानमा जुट्यो । बालिका रातको १२ बजे घरमा फर्किइन् । प्रहरीसँग पनि उनले जिकिर गरिन्, ‘मलाई अपहरणपछि बलात्कार गरे ।’ तर, प्रहरीको अनुसन्धानबाट उनले दावी गरेको पुष्टि भएन । अनुसन्धानबाट गम्भीर घटनाको कथा बुनेर उनले ढाँटेको खुलेको हो । ‘प्रेमी भेट्न गएको घटना लुकाउन अपहरणको बहाना बनाएको खुलेको छ’ कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले रातोपाटीसँग भने, ‘स्वास्थ्य परीक्षण पनि गराएका छौं, लिखित रिपोर्ट आउन बाँकी छ ।’

किशोरी प्रेमी १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रेमी पक्राउ परेपछि किशोरीले आफूले झुट बोलेको स्वीकारेकी छिन । ‘गल्ती भएको किशोरीले स्वीकार गरेकी छिन्’, एसपी चतुर्वेदीले रातोपाटीसँग भने ।

शनिवार पक्राउ परेका प्रेमीलाई प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ । प्रहरी अनुसन्धानबाट शुक्रवार साँझ उनीहरु पुनर्वास–२ स्थित खोला किनारमा राति अबेरसम्म कुरा गरेर बसेको थाहा भएको छ । किशोरीलाई भने प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*