श्रमिकहरुले पठाए परिचालन समिति सदस्य
काठमाडौं । पर्यटन व्यवसाय सम्वद्ध श्रमिक संघ संगठनहरुले श्रमिकहरुको तर्फबाट पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष ऋण परिचालन सदस्य पठाएका छन् । लामो समयदेखि पर्यटन बोर्ड र श्रमिकहरूका बीच विवाद रहँदै आएको कोष परिचालनको विषयमा बोर्डले प्रतिनिधि पठाउन पत्राचार गरेसँगै आइतबार श्रमिकहरुले आफ्नो तर्फबाट प्रतिनिधि पठाएका हुन् ।
बोर्डले गत फागुन २८ गते पर्यटन क्षेत्रमा क्रियाशिल ट्रेड युनियन श्रमिक संघ संगठनलाई प्रतिनिधि सदस्य पठाउन पत्राचार गरेको थियो । सोही पत्रलाई आधार मानी श्रमिक संगठनहरुले ‘पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष विनियमावली २०७७’ को विनियम ६ को उपविनियम (१) ले व्यवस्था गरेको ऋण परिचालन समितिको सदस्यको रुपमा अखिल नेपाल पर्यटन मजदूर संघका अध्यक्ष रामचन्द्र ढौनियालाई प्रतिनिधि सदस्यको रुपमा सिफारिस गरि पठाएको जानकारी दिएको छ ।
नेपाल पर्यटन श्रमिक संघ, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ र समाजवादी पर्यटन ट्रेड युनियनले संयुक्त रुपमा ढौनियालाई प्रतिनिधिको रुपमा सिफारिस गरेको हो ।
ढौनियाको कार्यकाल आउँदो डिसेम्बर, २०२१ अन्त्यसम्म रहने छ ।

बाइलाइन नेपाल











