निर्देशक आचार्य र पत्रकार न्यौपाने सम्मानित
दाङ । फिल्म, निर्देशक, कलाकार तथा निर्माता ऋषिराज आचार्य ‘वर्ष कलाकारिता सम्मान–२०७७’बाट सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले शनिबार आफ्नो १० औं वार्षिक साधारणसभाको अवसर पारेर उनलाई सो सम्मान दिएको हो । निर्देशक आचार्यका फिल्म ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ र ‘ड्रिम गर्ल’ प्रदर्शनमा आएको छ, भने ‘चुरि फुरी’ अहिले पोष्ट प्रोडक्सनमा रहेको छ ।
कार्यक्रममा रंग पत्रकार ध्रुवराज न्यौपानेलाई ‘वर्ष रंग पत्रकारिता सम्मान–२०७७’ समेत प्रदान गरियो । न्यौपाने चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको निवर्तमान अध्यक्ष समेत हुन् । चलचित्र पत्रकार संघ नेपाल, दाङका अध्यक्ष शिव पुन, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलगायतको उपस्थिति रहेको कार्यक्रममा दाङमा फिल्म सुटिङ गर्न सकिने सम्भावित ठाउँको अध्ययन भइरहेको जानकारी दिइयो ।
संघको वार्षिक साधारणसभा कार्यक्रममा संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मीले आफ्नो बुवा–आमाको स्मृतिमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष समेत स्थापन गरिदिए । अक्षयकोषबाट हरेक वर्ष एकजना रंग पत्रकारलाई भागवत–बसन्ता रंग पत्रकारिता पुरस्कारले पुरस्कृत गर्न गरिने जानकारी दिइयो ।

बाइलाइन नेपाल











