हेटौंडा अस्पतालका दुईजना डाक्टरको जागिर चैट

बाइलाइन नेपाल
१ चैत्र २०७७, आईतवार ०८:०६

हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत दुईजना डाक्टरलाई सेवाबाट हटाइएको छ । पटकपटक अस्पताल प्रशासनले सचेत गराउँदा समेत अटेर गरेपछि सेवा हटाइएको उल्लेख छ । अस्पतालमा ड्युटीको समयमा अन्यत्र काम गर्ने, औषधि खरिद गर्न निजी मेडिकलमा पठाउँदै आएका डाक्टरलाई सेवाबाटै हटाइएको व्यवस्थापन समिति स्रोतले जनाएको छ ।

सेवाग्राहीको गुनासोका आधारमा निगरानी गर्दा लापरबाही गरेको फेला परेपछि अस्पताल प्रशासनले उनिहरुलाई दुईपटक निलम्बन गरेको थियो । अस्पतालमा करारमा कार्यरत जनरल सर्जन बिशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा योनरोग बिशेषज्ञ डाक्टर बुद्धिराज पाण्डेलाई सेवाबाट हटाइएको हो । अस्पतालको ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्दै आएको र बिरामीलाई औषधि खरिद गर्न निजी मेडिकल तोकेर पठाएका कारण सेवाबाट हटाइएको उल्लेख छ ।

यसअघि अस्पताल प्रशासनले पटक पटक काममा सुधार गर्नका लागि दिएको चेतावनीको दुबैजनाले बेवास्ता गर्दै आएका थिए । दुबैजनालाई हेटौंडा अस्पताल व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो ।

अस्पतालको अहित हुने र ड्युटी समयमा काम नगर्नेहरुलाई सेवाबाट हटाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेलले बताए । आगामी दिनहरुमा पनि अस्पतालको अहित हुने काम गर्नेलाई सेवामा नराखिने समेत उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*