केही दिनभित्रै धारा–धारामा मेलम्चीको पानी आउँछः ओली

बाइलाइन नेपाल
२९ फाल्गुन २०७७, शनिबार १५:२६

प्रधानमन्त्री केपी ओलीले केही दिनभित्रै धारा–धारामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कतिपयलाई लागिसकेको थियो कि मेलम्चीको पानी आउँदैन । हामी निरन्तर अघि बढिरहेका छौं । हामीले मेलम्चीको पानी काठमाडौंमा खसाल्यौं, बागमतीमा बगिरहेको देख्नुुभएको छ । केही दिनभित्रै धारा–धारामा पानी आउनेछ,’ उनले भने ।

आफ्नो कार्यकालमा विकास–निर्माणमा नेपालले युगान्तकारी परिवर्तन गरेको उनले दाबी गरे । सुखी नेपाली, समृद्ध नेपाल नारालाई सार्थक तुल्याउन लाग्दा आफ्नो खुुट्टा तान्ने कोसिस भएको उनको आरोप थियो ।
‘हाम्रो विकासको गतिलाई कोभिड–१९ ले पनि रोक्न सकेन । हाम्रो विरोधीहरु र खुट्टा तान्नेहरुले पनि रोक्न सकेनन्,’ उनले भने,‘ हाम्रो पार्टीलाई बदनाम गराउने, हाम्रो पार्टीको चरित्र हत्या गर्ने कामहरु भए । देशलाई अस्थिरतातर्फ धकेल्ने स्थिरता हुन नदिने विकासको क्रममा बढ्न नदिने काम भए ।’

नेपालले गरिब देश हुँदाहुँदै पनि अन्य समृद्ध देशको दाँजोमा कोभिड १९ महामारी व्यवस्थापनमा उत्कृष्ट काम गरेको उनको दाबी छ । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एशिड आक्रमणकारी र बलात्कारीलाई दण्डित गर्ने कानूनलाई सरकारले अध्यादेशका रुपमा संसद्मा पेश गर्न खोज्दा विपक्षीहरुले भाँजो हालेको आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*