कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला आयोः देउवा

बाइलाइन नेपाल
२९ फाल्गुन २०७७, शनिबार १५:२३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला आएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेको भन्दै प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलाफमा लड्नुपर्ने बेला आएको बताएका हुन् ।
कम्युनिष्टहरू प्रजातन्त्रको खिलाफमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी । कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ । स्थायी गराउन, कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् । सात सालमा राणाको खिलाफमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले । पञ्चायतको खिलाफमा प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिष्टको खिलाफमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ । प्रजातन्त्रको खिलाफमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ । अरु प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्न नहुने भन्दै उनले परिस्थिति आइप¥यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे ।
उनले उनले, ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति प¥यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाइ छ । उनले भने, ‘हाम्रो पार्टीले महिला दिदीबहिनीहरुलाई पनि नेपालको संविधान अनुरुप बराबर नै ३३ प्रतिशत महिलाहरुलाई हाम्रो पार्टीमा पनि आरक्षण गरेका छौँ हामीले । महिलाहरुलाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिदैन, तबसम्म पार्टीको जित कहिल्यै हुँदैन । महिला शक्ति हो । जिताउन सक्छ महिलाहरुले, हराउनपनि सक्छ । महिलालाई जस्तो अधिकार देशले दिएको छ त्यो अधिकार कांग्रेसले पनि दिएको छ । महिला मतदातालाई हाम्रो पार्टीमा आकर्षित बढी गराउनुप¥यो ।’

महिला मतदातालाई नेपाली कांग्रेस पार्टीमा आकर्षित गराउनुपर्नेमा सभापति देउवाले जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*