‘चैत ७ गतेको बैठकमा एमालेका सबै नेताहरुलाई निम्ता’
सुर्खेत । नेपाल सरकारका संस्कृति, नागरिक उड्डयन र पर्यटन मन्त्री भानुभक्त ढकालले आगामी चैत्र ७ गते तय भएको केन्द्रीय समिति बैठकमा नेकपा एमालेका सबै नेताहरुलाई बोलाइएको जानकारी गराएका छन् ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका मन्त्री ढकालले शुक्रबारको बैठकमा छुटेका सबै नेताहरुलाई बोलाइएको बताए ।
‘उहाँहरु बैठकमा भाग लिन आउनुहुन्छ, आउनुहुन्न त्यो उहाँहरुको कुरा हो’, शनिबार सुर्खेतको वीरेन्द्रनगरमा एमालेका अगुवा नेता–कार्यकर्ता भेलामा ढकालले भने,‘ शुक्रबार पद भन्दा पनि इमान भएका पूर्व माओवादी केन्द्रका व्यक्तिहरुलाई सम्मान गरिएको हो । इमान्दार नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको हो।’ इमानलाई छोड्दैनौँ भन्ने व्यक्तिहरु आफूहरुसँग आएको उनले दावी गरे ।
उनले भने,‘ अफ्ठेरो त छ नै । हिजो पूर्वमाओवादीबाट सांसद बन्नुभएका साथीहरुले सांसद पदबाट राजीनामा दिनुपर्ला । तर, इमान्दारीता ठुलो की पद भन्ने कुरा हो ?’ शुक्रबारको बैठकबाट विधान संशोधन गरेको र महाधिवेशन आयोजक कमिटी बनेको खण्डमा अध्यक्ष र महासचिव मात्रै राख्ने व्यवस्था गरिएको कुरा पनि ढकालले जानकारी गराएका थिए ।
उनले माधव नेपाल, झलनाथ खनाल लगायतलाई व्यङ्ग्य गर्दै एमाले सम्झिरहनेहरुको पद केही नगरेको बताए । उनले माधव नेपाल पक्षका नेता कार्यकर्तालाई ज्वरो आएको र एक सातामा ज्वरो सेलाएपछि पार्टी वैठकमा आउने र पार्टी काममा लाग्ने विश्वास व्यक्त गरे ।

बाइलाइन नेपाल











