एमालेमा माधव नेपालद्वारा समानान्तर कमिटी गठन, यस्तो छ जिम्मेवारी बाँडफाँड
नेकपा एमालेमा समानान्तर कमिटी गठन प्रक्रिया सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा जिम्मेवारी तोकेपछि माधव नेपाल पक्षले आज समानान्तर कमिटी गठन थालेको हो । ओलीले नेपाल पक्षका नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ ।
ओलीले शुक्रबार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका थिए । तर आज नेपाल पक्षले ओलीको कमिटीलाई काउन्टर दिंदै प्रदेश इन्चार्ज र विभिन्न विभागको जिम्मा दिंदै समानान्तर कमिटी गठन गरेको छ । यसले एमालेमा ओली नेपाल पक्षको विवाद तल्लो तहसम्म पुग्ने देखिन्छ ।
जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको स्रोतले जनाएको छ ।

बाइलाइन नेपाल











