तीन दलबीच संयुक्त छलफलबाट सरकारबारे अन्तिम निर्णय गर्ने पेरिसडाँडा बैठकको निष्कर्ष
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक सकारात्मक बनेको छ । शनिबार माओवादीको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा ओली सरकारको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
बैठकमा ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष समेत निकालिएको छ । यसको लागि छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको यादवको भनाइ छ ।
यस्तै, माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्तालगायतका जसपाको मागका विषयमा आजको बैठक सकारात्मक ढंगले अघि बढेको बताए ।
यस्तै, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले भने आफूहरुको उठाएका मुद्दाका कतिपय विषय प्रस्ट भइनसकेको भन्दै थप छलफल जरुरी रहेको बताए । ठाकुरले प्रधानमन्त्री केपी ओलीसँगै सहकार्य गर्नेबारे समेत छलफल गर्दै आएका छन् ।

बाइलाइन नेपाल











