राजकुमार न्यौपानेको नेतृत्वमा उपाध्यक्षहरुको उम्मेदवारी घोषणा
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्ने मिति नजिकिदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । व्यवसायीहरुले आफु निकट रहेकालाई एकत्रित गरि नेतृत्वसहित प्यानल नै घोषणा गर्न थालेका छन् ।
आसन्न ५४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य राजकुमार न्यौपानेको नेतृत्वमा ४ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडाको मोटल एभोकाडोमा एक कार्यक्रमको आयोजना गरी व्यवसायी माझ न्यौपाने नेतृत्वको टोलीले उम्मेदवारी घोषणा गरेका हुन् ।
जसमा अध्यक्ष पदमा राजकुमार न्यौपाने, वाणिज्यतर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौलागाईँ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् । उक्त चुनावी समूहको अन्य पदहरु भने पछि सार्वजनिक गरिने जनाइएको छ ।
अध्यक्ष पदका उमेदवार न्यौपानेले निषेधको राजनीतिका विरुद्धमा आफ्नो उमेदवारी रहेको बताए । भाषण भन्दा पनि काम गरेर देखाउने उनले उल्लेख गरे । आफु र आफ्नो टिमलाई मत दिएर जिताउनका लागि न्यौपानेले व्यवसायीसँग आग्रह गरे ।
कार्यक्रममा चारै जना उपाध्यक्षका उम्मेदवारले व्यवसायीको हकहितमा काम गर्दै संघको गरिमालाई उच्च बनाउने प्रतिवद्धता जनाएका थिए । व्यवसायीको मर्म र पिडामा हिजोबाटै साथ दिदै आएकाले राजकुमार न्यौपाने नेतृत्वको टिमलाई जिताउन उनिहरुले आग्रह गरे ।

बाइलाइन नेपाल











