मकवानपुर एमाले अध्यक्षमा दुई जनाले दावी गर्दा आधिकारिकताका लागि घमासान

बाइलाइन नेपाल
२८ फाल्गुन २०७७, शुक्रबार १५:१५

हेटौंडा । सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएसँगै मकवानपुरमा एमालेकै नेतृत्व र आधिकारिकताका लागि पार्टीभित्र घमासान भइरहेको छ । खारेज भइसकेको नेकपाको ओली पक्षका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले आफु नै एमालेको आधिकारिक जिल्ला अध्यक्ष भएको दावीसहित पार्टी कार्यालयमा पदभार ग्रहण गरिसकेका छन् । तत्कालीन नेकपा एमालेको जिल्ला अध्यक्ष रहेकी मुनु सिग्देलले सर्वोच्चको फैसलाअनुसार जसरी केपी शर्मा ओली एमालेको अध्यक्ष भएका छन्, त्यसैगरी आफू पनि साविककै अध्यक्षको हैसियतले अहिले पनि जिल्ला अध्यक्ष भएको दावी गर्दै आएकी छन् ।

उल्लेखनीय छ, एमाले ब्युँतिएसँगै पार्टीमा केपी ओली गुट र माधव नेपाल गुट पनि ब्युँतिएको छ । एमालेको जिल्ला अध्यक्ष दावी गर्दै आएका श्रेष्ठ ओली पक्षका नेता हुन् भने सिग्देल माधव पक्षकी नेतृ हुन् ।

अधिवेशनबाट चुनिएको अध्यक्ष मै हुँ : सिग्देल

बागमती प्रदेशसभा सदस्य तथा तत्कालीन नेकपा एमालेकी अध्यक्ष मुनु सिग्देलले नेकपा एमाले मकवानपुरको अध्यक्ष आफू नै भएको बताइन् । तत्कालीन नेकपा एमालेको अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष आफू नै रहेकाले नेकपा एमालेको आधिकारिक अध्यक्ष पनि आफू नै रहेको दावी गरिन् ।
‘म कसैले टीका लगाइदिएर अध्यक्ष भएकी हैन, मलाई कार्यकर्ताले नै मत दिएर अध्यक्ष बनाएका हुन्,’ उनले भनिन्, ‘अधिवेशनबाट निर्वाचित अध्यक्षलाई कसैले हो वा होइन भनिरहन पर्दैन ।’
उनले अगाडि भनिन्, ‘प्रधानमन्त्री ओलीले जसरी नेकपा एमालेको अध्यक्ष हुँ भन्नु भएको छ, म पनि त्यसरी नै एमाले मकवानपुर अध्यक्ष हुँ, अधिवेशनबाट निर्वाचित अध्यक्ष पनि म नै हो, कसैले हो÷होइन भनि रहन पर्दैन,’ उनले भनिन् ।
तत्कालीन नेकपा एमाले र खारेज भएको नेकपाको अध्यक्ष पनि आफु नै भएको उल्लेख गर्दै जिल्ला कमिटीको बहुमत पनि आफ्नै पक्षमा रहेको उनको दावी छ ।

जिल्ला कमिटीको कार्यकाल सम्माप्त भएकाले म नै अध्यक्ष हुँ : श्रेष्ठ
खारेज भएको नेकपा ओली पक्षका मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले नेकपा एमाले मकवानपुरको अध्यक्ष पनि आफू नै भएको दावी गरेका छन् । नेकपा एमाले मकवानपुरको आधिकारिक अध्यक्ष आफु भएको दावी गर्दै श्रेष्ठले फरकधारमा रहेका नेताहरुलाई मुलधार समात्न आग्रहसमेत गरे । उनले सिग्देललाई अध्यक्ष स्वीकार गर्न नसक्ने भन्दै पार्टीमा सच्चिएर आउन आग्रहसमेत गरे ।

अदालतको फैसलाले नेकपा एमाले पूर्ववत् रुपमा फर्किए पनि जिल्ला कमिटी तत्कालीन अवस्थामा नरहने उनको भनाइ छ । ‘सर्वोच्च अदालतको फैसलाले नेकपालाई खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ, नेकपा एमाले र माओवादी केन्द्र पुर्ववत् रपमा फर्किएका छन् तर नेकपा एमालेको जिल्ला कमिटी भने चालु अवस्थामै रहन्छ, पूर्ववत् रुपमा फर्कँदैन,’ उनले भने । उनका अनुसार जिल्ला कमिटी पार्टीको आन्तरिक छलफल र सहमतिबाट टुंगो लगाइने विषय भएकाले कमिटीमा को कहाँ रहने भन्ने कुरा छलफलबाटै टुङ्ग्याइने छ ।

नेकपा एमालेमा ३ वर्षको कार्यकाल रहने प्रावधान रहेको भन्दै २०७२ मंसिरमा भएको महाधिवेशनबाट सचिवमा निर्वाचित भएका श्रेष्ठले जिल्ला कमिटीको कार्यकाल सकिएकोसमेत बताए । ‘२०७२ साल मंसिर १२ गतेको महाधिवेशनमा म सचिव र मुनुजी अध्यक्षमा निर्वाचित भएका थियौं । नेकपा एमालेको जिल्ला कमिटीको कार्यकाल ३ बर्ष रहने प्रावधान छ । त्यसैले हालको नेतृत्वलाई नै मान्यता दिनुपर्छ,’ उनले भने ।

अदालतको फैसलापछि नेकपा एमाले मकवानपुरका नेता तथा कार्यकर्ताहरुले हेटौँडा ५ पुष्पलाल पार्कस्थित भवनमा नेकपा मकवानपुरको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेर पार्टीको नियमित काम कारबाहीसमेत सञ्चालन गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*