प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र सत्ता पक्षकै लहरमा बस्ने

बाइलाइन नेपाल
२६ फाल्गुन २०७७, बुधबार ११:४९

काठमाडौं । वर्तमान सरकारको विकल्पबारे अनेक अनुमान गरिएको अवस्थामा बुधबार बस्ने प्रतिनिधिसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्ता पक्षकै लहरमा बस्ने भएका छन् ।

निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ २३ गतेभन्दा अघि कै अवस्थामा फर्किएको विवरणसहितको पत्र संसद सचिवालयमा बुझाइसकेको छ ।

दुई दलबीच एकीकरण भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने पनि सर्वोच्च अदालतले दुवै दललाई साविककै अवस्थामा फर्काइदिएको कारण प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्र सत्ता पक्षको लहरमा बस्छ या विपक्षीको लहरमा भन्नेबारे द्विविधा थियो ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सो दल सत्ता पक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रातोपाटीलाई बताए ।

नेकपा माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा भने उसका लागि विपक्षी दलका रुपमा प्रतिनिधिसभा बैठकमा स्थानको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका नेताहरु पनि सामेल छन् । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणिचन्द्र थापा, गौरीशंकर चौधरी, दावा लामा तामाङ नेकपा माओवादी केन्द्रका सदस्य हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*