गोपाल किराँतीको माओवादी केन्द्र र सन्ध्या तिवारीको नेकपा एमालेले नाम फेर्नुपर्ने

बाइलाइन नेपाल
२५ फाल्गुन २०७७, मंगलवार १६:४९

काठमाडौं । निर्वाचन आयोगले गोपाल किराँतीको अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेकपा एमालेलाई नाम फेर्न प्रस्ताव गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतद्वारा फागुन २३ गतेको फैसलाअनुसार केपी शर्मा ओलीको अध्यक्षतामा रहेको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र २०७५ जेठ २३ गते अघिकै अवस्थामा कायम भएका कारण उक्त मिति पछि दर्ता भएका सोही नामका दुवै दललाई नाम परिवर्तनका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

ओलीको नेतृत्वमा रहेको नेकपा एमाले र प्रचण्डको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि आयोगको सूचीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र नामक दल नरहेकाले किराँतीले नेकपा माओवादी केन्द्र र तिवारीले नेकपा एमाले नाम लिएर दल दर्ता गराएका थिए ।

तर सर्वोच्चको आदेशले साविकका नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राजनीतिक दल उत्प्रेषणको आदेशले बदर भएपछि आयोगले त्यसपछि दर्ता भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नाम परिवर्तनका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

दुवै दललाई १५ दिनभित्र सुधार सहितको विवरण आयोग समक्ष पेस गर्न जानकारी गराउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*