सर्वोच्चको फैसलापछि कानुनी परामर्शमा प्रचण्ड–माधव

बाइलाइन नेपाल
२३ फाल्गुन २०७७, आईतवार १६:५७

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको बैठक सिंहदरबारमा सुरु भएको छ । सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालगायतका नेताहरु रहेका छन् । सर्वोच्च अदालतले गरेको निर्णय बारेमा प्रचण्ड र माधव नेपालले सिंहदरबारमा कानुनी परामर्श गरिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

सर्वोच्चको फैसलामा भनिएको छ, ‘माथि उल्लेख भइ विवेचना भएको कानूनी आधार काराण समेतबाट नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भैसकेको आवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्येका निर्वाचन आयोगको मिति २०७५–०२–२३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५–०७–०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६(१) (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।

ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*