काँग्रेसको प्रश्न : विप्लवले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हतियारबारे प्रश्न गरेको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका हुन् ।
‘प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार विप्लव आउँदा पूरै? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ,’ प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि हतियारबारे प्रश्न उठ्दा प्रचण्डले हतियार खोलाले बगाएको प्रतिक्रिया दिएका थिए ।राज्यविरुद्ध हिंसात्मक आन्दोलन विप्लव नेतृत्वको नेकपासँग सरकारले सहमति गर्दा हतियार बुझाउनेबारे केही खुलाएको छैन।
काँग्रेसले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिलाई भने स्वागत गरेको छ । ०२८ मा केपी-सिपी,०५२ मा प्रचण्ड-बाबुराम,अहिले विप्लव-प्रकाण्ड ‘रेड बुक’, नाम-काम र परिणाम उस्तै उस्तै भएको शर्माको भनाइ छ ।
‘नेपालको पुरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न कम्युनिस्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?,’ उनको पश्न छ ।

बाइलाइन नेपाल











