विधिवतरुपमा संसदीय दलको नेता परिवर्तन गर्दै प्रचण्ड–माधव समूह, एक टोली निर्वाचन आयोगमा

बाइलाइन नेपाल
२१ फाल्गुन २०७७, शुक्रबार १५:३३

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक यतिबेला सिंहदरबारमा बसिरहेको छ । जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसिरहेको आजको बैठकको विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गर्ने एजेन्डा रहेको छ ।

बैठकअघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सो समूहको दाबी छ । यता, सो पक्षका केही सांसद निर्वाचन आयोगमा पनि गएका छन् । लिलामणि पौडेल, राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीलगायत निर्वाचन आयोग गएका हुन् ।

आजको दलको बैठकमा कति सांसद उपस्थिति हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।

दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*