‘इन्काउन्टर’ मा मारिएका विप्लव समूहका जिल्ला इन्चार्जको परिवार वार्ता र सहमतिप्रति असन्तुष्ट

बाइलाइन नेपाल
२० फाल्गुन २०७७, बिहीबार १२:३३

काठमाडौं । सरकार र विप्लव समूहबीच भएको सहमतिप्रति विप्लव समूहकै योद्धाका परिवारले असन्तुष्टि जनाएका छन् । प्रहरीको ‘काउन्टरमा’ मा मारिएका ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारले सरकार र विप्लव समूहबीच भएको वार्ता र सहमतिप्रति असन्तुष्टि जनाएको हो ।

पौडेलकी दिदी लक्ष्मी पौडेलले बुधबार राति फेसबुकमा स्वर्गीय भाइलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘आज वार्ताको टेबुलमा बस्दा तिम्रो न्यायका लागि कुनै शर्त त्यहाँ राखिएको छैन, तिम्रा सुकुम्बासी जनताका जायज माग पनि राखिएका छैनन् ।’

उनले कुमारमाथि घोर अन्याय भएको पनि उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘तर हाम्रो एक थोपा रगत र एक मुठी प्राण भएसम्म तिम्रो न्याय र तिम्रो अधुरो सपना पूरा गर्न अठोट लिएर हिँडिरहेछौँ । फेरि तिमीजस्तै मर्नु परे पनि हामी पछि हट्ने छैनौं ।’

उनले कुमारको न्यायमाथि घात भएको जिकिर गर्दै घात गर्नेहरूसँग लड्ने आफूहरुसँग साहस रहेको भन्दै लेखेकी छन्, ‘पैसा र पावरमात्र ठुलो कुरा हैन, याद रहोस् ।’

आफ्नो भाइ कुमारलाई उनले ‘सर्वहारा सुकुम्वासीको प्रिय नेता’ का रुपमा उल्लेख गरेकी छन् । उनले भाइलाई सम्बोधन गर्दै अगाडि लेखेकी छन्, ‘तिम्रो अदम्य साहसलाई मेरो सलाम । तिमीले न झुक्न जान्यौ, नत बिक्न जान्यौ, जान्यौ त केवल इमानदार हुन ।’

कुमारको इमानदारिता उनकै पार्टीभित्रका केही व्यक्तिलाई अपाच्य भएको लक्ष्मीको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*