विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् ।
मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएका हुन् । पछिल्लो समूह सरकार र विप्लव पक्षबीच वार्ताका लागि अनौपचारिक छलफल हुँदै आएको थियो ।
आइतबार झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग छिट्टै वार्ता हुने बताएका थिए । नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ता हुन लागेको भन्दै यो खुसीको खबर भएको बताएका थिए । उनको भनाइ थियो, ‘तपाईंहरुलाई खुशीको खबर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ ।’
ओलीले विप्लवलाई सरकारले शान्ति प्रक्रियामा ल्याएको सारा नेपालीले टेलिभिजनबाट देख्ने समेत बताएका थिए । उनले भनेका थिए, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’
उसो त फागुन ८ गते प्रतिबन्धित नेकपाका महासचिव विप्लवले समेत वार्तामा बस्न आफूहरु तयार रहेको जनाउँदै विज्ञप्ति जारी गरेका थिए । सो अघि केपी शर्मा ओली र उनी नेतृत्वको सरकारको कडा आलोचना गर्दै विज्ञप्ति जारी गर्ने गरेका विप्लवले ‘सफ्ट भाषामा’ वार्ताका लागि तयार रहेको बताएका हुन् ।
आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल रहेको र जनसमुदायमा सहज गतिविधि तथा कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा वार्तामा बस्न तयार रहेको विप्लवको भनाइ थियो ।
‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो,’ उनले विज्ञप्तिमा भनेका थिए, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’
सरकारले वार्ता टोली बनाएसँगै विप्लव समूहबाट पनि छिट्टै वार्ता टोलीको घोषणा गर्ने बुझिएको छ ।

बाइलाइन नेपाल











