प्रधानमन्त्रीले राजीनामा दिएर निकासको बाटो खोल्नुपर्ने पक्षमा काँग्रेस
काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएसँगै नेपालको राजनीतिक अध्यायले नयाँ मोड लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष गरेको सिफारिस र सोही सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोकेको विषयलाई संवैधानिक इजलासले ‘असंवैधानिक’ ठहर गरेको हो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण अब प्रधानमन्त्रीले राजीनामा दिएर निकासको बाटो खोल्नुपर्ने बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
‘उहाँ (प्रधानमन्त्री) ले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो,’ खाँणले भने, ‘तर अदालतले सो कदमलाई असंवैधानिक भनिसकेको अवस्थामा अब प्रधानमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्छ ।’

बाइलाइन नेपाल











