सुदूरपश्चिमबाट औद्योगिक विकासको युग सुरु भयो : मन्त्री भट्ट

बाइलाइन नेपाल
९ फाल्गुन २०७७, आईतवार १६:५०

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन् ।

आइतबार प्रेस संगठन नेपालले कैलालीको अत्तरियामा गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने जानकारी दिँदै उद्योग मन्त्री भट्टले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको बताए ।

९ अर्ब रुपैयाँको लागतमा ५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाइ छ । कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अघि बढेको जानकारी दिँदै मन्त्री भट्टले खानीको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य सुरु गरिएको पनि बताए ।

निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्न लागिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*