मनहरी गाउँपालिका कार्यालयमा यसरी भयो मनिला विष्टको इन्ट्री
हेटौंडा । उच्च अदालत पाटन हेटौँडा इजलासले न्याय दिएपछि मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आज जिम्ेवारीमा फर्किएकी छिन् । अदालतले आफ्नो पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेपछि गाउँपालिका कार्यालय पुगेर विष्टले उपाध्यक्षको कार्यभार सम्हालेकी हुन् ।
आज बिहान १० बजे कार्यालय पुगृकी विष्टलाई कर्मचारी, शुभचिन्तकले स्वागत गरेका थिए । र्यालीसहित कार्यालय पुगेकी उपाध्यक्ष विष्टले कोणसभालाई सम्बोधन गर्दै सत्यको जित भएको बताइन् । राजीनामा स्विकृत भएको भन्दै गाउँपालिका कार्यालयले उनको कार्यकक्षको सामान र नेमप्लेट हटाएको थियो । तर आज कार्यालय पुग्दा उनको कार्यकक्ष पूर्ववत रुपमा तयार गरिएको थियो । उपाध्यक्ष विष्ट कार्यालय पुग्दा जनप्रतिनिधि, नेकपाका कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारण पनि पुगेका थिए ।
न्यायाधीशहरु मोहम्मद साविर हुसेन र चन्ढिराज ढकालको संयुक्त इजलासले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुनः कामकाजमा फर्कन पाउने गरि परमादेश जारी गरेको थियो ।
विष्टले आफुले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो । विष्टको पक्षमा अधिवक्ताहरु सुशिल कुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गरेका थिए ।
विष्टले २०७७ मंसिर २९ गते बुझाएको राजीनामा पुस १७ गते गाउँपालिकाले स्वीकृत गरेको जनाएको थियो । तर विष्टले आफुले राजीनामा नदिएको दाबी गर्दै आएकी थिइन् । पुस १९ गते हेटौंडामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष विष्टले आफुले राजीनामा नदिएको बताएकी थिइन् । उनले पत्रकार सम्मेलनमा –‘ मैले पदबाट राजीनामा दिएको छैन । गाउँपालिकामा मेरो नाममा कुनै राजीनामा पत्र पुगेको रहेछ भनेपनि त्यो फेक हो । कर्मचारीको बदमासी हो ।’ भनेकी थिइन् ।
पुस १७ भन्दा अगाडि नै उपाध्यक्ष विष्टले राजीनमा दिएको समाचारहरु सञ्चार माध्यममा आएपछि गाउँपालिकाले नै त्यसको खण्डन गर्दै राजीनामा नआएको जनाएको थियो ।