कर्णालीमा बर्डफ्लु भित्रियो

बाइलाइन नेपाल
८ फाल्गुन २०७७, शनिबार १६:५९

भारतका विभिन्न राज्यमा देखा परेको बर्डफ्लू कर्णालीमा पनि भित्रिएको छ। प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लु देखा परेको हो ।
वीरेन्द्रनगर–१२ नौलो टोलस्थित स्थानीयले पालेका कुखुरामा बर्डफ्लु देखिएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी विकास शाखाले जनाएको छ।

‘बर्डफ्लु भित्रिएको आशाङ्कामा नै पशु सेवा विभागले नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ,’ पशु विकास अधिकृत प्रचण्ड खड्का क्षेत्रीले  भने ।
उनले भने, ‘शुक्रबार राति १२ बजेतिर गएर दुई जनाको सानो –ठुलो गरेर ३ सय ८१ कुखुराहरु र २ सय ५ वटा परेवाहरु नष्ट गरिसक्यौँ ।’

पशुपंक्षी विकास निर्देशनालयको अगुवाइमा नष्ट गर्ने काम भएको हो । रोग फैलिन सक्ने सम्भावना देखिएपछि शुक्रबार रातिनै सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्ड फ्लु पुष्टि भएका स्थानीयका कुखुरा नष्ट गर्ने काम भएको थियो ।

नियन्त्रण गर्नेबारे छलफल
निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले नियन्त्रण र सर्तकताका बारेमा अहिले पशु चिकित्सकको टोलि सहितको बैठक बसिरहेको बताए । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रको अध्यक्षतामा पशु सेवा विभाग काठमाडौँबाट वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोली, पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा.कृष्णराज पाण्डे, डा. जितेन्द्र श्रेष्ठ, पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेश, वीरेन्द्रनगर नगरपालिका, १२ नम्बर वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी, सम्बन्धित निकाय रोग नियन्त्रण शाखाका व्यक्तीहरु सहितको सहभागितामा छलफल भइरहेको हो ।

पशु विकास अधिकृत प्रचण्ड खड्का क्षेत्रीले भने,‘स्याम्पल केन्द्रीय ल्याबबाट पोजेटिभ नभएको रिजल्ट नआउँदासम्म मान्य हुँदैन । त्यसलाई फैलिन नदिनका लागि हामी बैठकमा जुटिरहेका छौँ।’ भारतबाट आउने दानाबाट बर्डफ्लु भित्रिएको अनुमान सँगै लुकिछिपी ल्याएका दाना वा कुखुरा, हाँस, र टर्कीबाट बर्ड फ्लु रोग सार्न सक्ने भएकाले चेक जाँचमा कडाइ गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिइसकिएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*