‘माउन्ट के टू’ को सफल आरोहण गर्ने टोलीलाई सम्मान

बाइलाइन नेपाल
७ फाल्गुन २०७७, शुक्रबार १२:३२

विश्वको दोस्रो अग्लो हिमशिखर ‘माउन्ट के टू’ को सफल आरोहण गरेर घर फर्किएका नेपाली टोलीलाई उद्योग परिसंघले बधाई दिएको छ । बिहीबार राजधानीमा एक समारोहको आयोजना गर्दै परिसंघले हिमाल आरोहणमा जाने निर्मल पूर्जासहितको १० नेपालीको स्वागत तथा सम्मान गरेको हो ।

समारोहलाई सम्बोधन गर्दैं परिसंघका अध्यक्ष सतिषकुमार मोरले हिमाल आरोही १० नेपाली टोलीले विश्वसामु नेपालको नाम राख्न सफल भएको र जुन नेपालीहरुका लागि ठूलो गौरवको विषय भएको बताए । ‘यो नेपालीहरूको लागि ठूलो गौरवको विषय हो कि, यहाँहरुको टोलीले विश्वकै दोस्रो ठूलो हिमशिखरको सफल आरोहण गरेर स्वदेश फर्किनुभएको छ । जसले विश्व सामु हाम्रो शीर अझ उच्च भएको छ ।’

अध्यक्ष मोरले भने, ‘यस्तो ठूलो उपलब्धिमा हामी सिंगो नीजि व्यावसायिक क्षेत्र तपाईहरुलाई स्वागत एवम् सम्मान गर्न चाहन्छौं ।’ १० नेपाली आरोहीहरुको टोलीले गत जनवरी १६, २०२१ का दिन माउण्ड केटू (८,८११ मि) को सफल आरोहण गरेर नेपाल फर्किएका थिए ।

विश्वका उच्च हिमशिखर मध्ये उच्च जोखिमपूर्ण हिमशिखर मानिएको माउण्ट केटूको त्यो पनि अफ सिजन (हिउँदे याममा) सफल आरोहण गरेकाले उक्त टोलीले इतिहास रच्न सफल भएका हुन् । उक्त कीर्तिमानी एवम् साहसिक आरोहणबाट नेपाली टोलीले आफ्नो मात्र नभएर सम्पूर्ण नेपाल र नेपालीको समेत शिर उच्च राख्दै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल भएको परिसंघको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*