भक्तपुरमा करिब ३७ सय जनाले लगाए कोरोना विरुद्धको खोप
भक्तपुरमा करिब ३ हजार ७ सय जना मानिसले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारीअनुसार पहिलो र दोस्रो चरणमा गरेर ३ हजार ६ सय ३८ जनाले खोप लगाएका हुन् ।
सरकारले तोकेको मापदण्डभित्र परेकाहरुले जिल्लाका भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट खोप लगाएका कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताए । जसमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधी, पत्रकारलगायत रहेका छन् ।
भक्तपुरमा हालसम्म ९ हजार ५ सय ५२ जना कोरोनाबाट संक्रमित भएका छन् । १ सय २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ९ हजार ३ सय ८३ जना संक्रमण मुक्त भएका छन् । अहिले ४२ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताए ।

बाइलाइन नेपाल











