तनहुँ जलविद्युत् आयोजनाका लागि सम्झौता हुँदै
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैँकले सोङ्दा भियतनाम÷कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।
“सबैभन्दा कम दर प्रस्ताव गरेको र आर्थिक एवं प्राविधिक रुपमा प्रभावग्राही देखिएपछि उक्त कम्पनीले पहिलो प्याकेजको ठेक्का पाएको हो,” उनले भने । उनका अनुसार फागुन दोस्रो हप्ताभित्र पहिलो प्याकेजको काम अगाडि बढाउन निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी छ । उक्त कम्पनीले पहिलो प्याकेजका लागि रु १६ अर्ब ६८ करोडमा ठेक्का प्राप्त गरेको छ ।
पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअगाडि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो ।

बाइलाइन नेपाल











