प्रधानमन्त्री ओलीको दलिल– मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन

बाइलाइन नेपाल
६ फाल्गुन २०७७, बिहीबार १३:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना हुने गरी आफूले अभिव्यक्ति नदिएको जनाएका छन् ।
बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले अदालतबाट हुने कार्यका विषयमा अन्य केही व्यक्तिहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएजस्तो यो यस्तो हुनुपर्छ, नभए आन्दोलन गर्छु, कसैलाई कारवाही गर्छुजस्ता दबाबमूलक र निन्दनीय शब्द प्रयोग नगरेको उनले प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई आफै उपस्थित भएर लिखित जवाफ दिन निर्देशन दिएको थियो ।

सोही अनुरुप बिहीबार तीन पृष्ठ लामो लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले मुद्दा जित्छु, मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वाभाविक मानिन्छ ।’

मुद्दामा बहस गर्ने कानुन व्यवसायीले समेत सोही आत्मविश्वासका साथ बहस गर्ने जिकिर गर्दै उनले भनेका छन्, ‘त्यसैले कुनै मुद्दाको पक्षले मुद्दाको सम्बन्धमा व्यक्त गरेको कुरालाई अदालतको अवहेलनाको विषय बनाउन मिल्दैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*