मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई पदीय जिम्मेवारीमा फर्कन अदालतको आदेश

बाइलाइन नेपाल
५ फाल्गुन २०७७, बुधबार १८:४५

हेटौंडा । उच्च अदालत पाटन हेटौँडा इजलासले मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टलाई पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेको छ ।

न्यायाधीशहरु मोहम्मद साविर हुसेन र चन्ढिराज ढकालको संयुक्त इजलासले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुनः कामकाजमा फर्कन पाउने गरि परमादेश जारी गरेको हो ।

मनहरी गाउँपालिका उपाध्यक्ष बिष्टको राजीनामा अदालतले अस्वीकृत गरेको छ । आज उच्च अदालत पाटनकोे आदेशले परमादेश उत्प्रेषणमार्फत राजीनामा खारेज गरेको हो ।

विष्टले आफुले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो । विष्टको पक्षमा अधिवक्ताहरु सुशिल कुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गरेका थिए ।

विष्टले २०७७ मंसिर २९ गते बुझाएको राजीनामा पुस १७ गते गाउँपालिकाले स्वीकृत गरेको जनाएको थियो । तर विष्टले आफुले राजीनामा नदिएको दाबी गर्दै आएकी थिइन् । पुस १९ गते हेटौंडामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष विष्टले आफुले राजीनामा नदिएको बताएकी थिइन् । उनले पत्रकार सम्मेलनमा –‘ मैले पदबाट राजीनामा दिएको छैन । गाउँपालिकामा मेरो नाममा कुनै राजीनामा पत्र पुगेको रहेछ भनेपनि त्यो फेक हो । कर्मचारीको बदमासी हो ।’ भनेकी थिइन् ।

पुस १७ भन्दा अगाडि नै उपाध्यक्ष विष्टले राजीनमा दिएको समाचारहरु सञ्चार माध्यममा आएपछि गाउँपालिकाले नै त्यसको खण्डन गर्दै राजीनामा नआएको जनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*