प्रधानमन्त्री ओलीको प्रश्न– निर्वाचन प्रतिगमन हो ?

बाइलाइन नेपाल
३ फाल्गुन २०७७, सोमबार १२:१०

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने आफ्नो निर्णयको बचाउ गरेका छन् ।
सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले आफूलाई ‘प्रतिगमनकारी’ भनिएकोमा आपत्ति जनाए । उनले प्रश्न गरे– के हो प्रतिगमन ? निर्वाचन प्रतिगमन हो ?

उनले प्रतिनिधिसभा विघटन नभएको अवस्थामा पनि आगामी डेढ÷दुई वर्षमा चुनावमा जानैपर्ने संवैधानिक बाध्यता रहेको जिकिर गर्दै भने, ‘जनताका बीचमा जनादेशका लागि जाँदा प्रतिगमन हुन्छ भने कम से कम डेढ÷दुई वर्षपछि चुनाव त हुन्छ नै, चुनाव रोक्न सकिँदैन । प्रतिगमन त फेरि हुने नै भयो, प्रणालीले चुनाव गराउँछ ।’

उनले आफू निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै चुनाव गर्दा कसरी अलग बाटोमा हिँडियो भन्ने प्रश्नसमेत गरे । उनले प्रश्न गरे, ‘के मैले सधैँ शासनमा बसिरहन्छु भनेँ ? कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पल्टाउनुहुन्छ ?’

सरकार बनाउन र ढाल्न विगतमा के के गरिए भन्नेतिर आफू जान नचाहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले अहिले आफू जनताको मत लिएर सरकार बनाउन जाऔं भनेर लागिपरेको बताए ।

‘आफूले पाएको जनमतले जुन परिणाम प्राप्त गरौंला भन्ने थियो, केही तत्वहरुले त्यो परिणाम प्राप्त गर्न दिएनन्,’ उनले भने, ‘यो राजनीतिक मामिला हो, राजनीतिक प्रश्न हो, यसको निरुपण सार्वभौम सत्ता सम्पन्न जनताले नै गर्ने हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*