यसरी मनाइयो मकवानपुरमा जनयुद्ध दिवस

बाइलाइन नेपाल
१ फाल्गुन २०७७, शनिबार १७:५३

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले मकवानपुरमा २६ औं जनयुद्ध दिवस मनाएको छ । मकवानपुरगढी गाउँपालिका कालिखोलास्थित जनयुद्धका सहिद तथा तत्कालिन नेकपा माओवादीका नेता स्वर्गीय रुद्र पाख्रिनको प्रतिमामा माल्यार्पण गर्दै दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धि रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतान्त्रिक संविधानमाथि कु गरेर लोकतन्त्रलाई खतरामा पारेको उनेको भनाई छ । ‘अब यो उपलब्धि रक्षा गर्न तेस्रो जनआन्दोलनको आवश्यकता छ’, न्यौपानेले भने, ‘सबै नेपाल फेरि एकपटक उपलब्धि रक्षाको लागि अघि बढ्न जरुरी छ ।’

मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोध खतिवडा, नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामी, नेताहरु हर्कमाया रुम्बा, ललित घलान, बद्रि लम्साल, श्रीधर पोखरेल, प्रमिला पुलामी, कमानसिं पाख्रिन (पृथक), मानकुमारी नेपाली, रामजी सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

यसैगरी नेकपाले मनहरी गाउँपालिकाको भिमादमा पनि कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको छ । आजै साँझ जनयुद्ध दिवसको अवसरमा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन गरिएको छ । नेकपाका नेता तथा कार्यकर्ताको सहभागितामा बुद्ध चोकमा दीप प्रज्वलन गरिएको हो ।

गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।

रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।

आठबिसकोट प्रहरी चौकी आक्रमणको नेतृत्व गरेका गणेशमान पुन (रश्मी) भन्छन्, ‘भरुवा बन्दुकको घरमा चौकी आक्रमणमा जानु चुनौतीसँगसँगै पार्टीले मलाई गरेको विश्वासप्रति गर्व महसुस भएको थियो ।’ बिहानपख २ बजे माओवादीहरुले आठबिसकोट चौकीबाट हतियार तथा बन्दोबस्दीका समान कब्जामा लिएका थिए ।

नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजी कारबाहीहरूको जिम्मेवारी लिएका थिए । जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो । उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ । त्यसपछि फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरुको सामूहिक हत्या गरेको थियो ।

बदला र प्रतिशोधका कारण सरकार र विद्रोही माओवादीबीच हत्याका श्रृंखला चलेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा जारी द्वन्द्वलाई देखाएर सत्ता हातमा लिएपछि माओवादी र प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो ।

यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो ।

१० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो भने कयौं बेपत्ता र अंगभंग भएका छन् । जनयुद्धको क्रममा माओवादीले आफ्नै सेना निर्माण गरेको थियो ।

सेना समायोजनको क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले १९ हजार ६०२ जना जनसेना प्रमाणीकरण ग¥यो । तीमध्ये समायोजनको क्रममा दिइएको विकल्पअनुसार १५ हजार ६३० जनाले स्वेच्छिक अवकाश रोजेर घर फर्किए । प्रमाणीकरणको क्रममा झण्डै चार हजार जना अयोग्य ठहरिए । १ हजार ४ सय २१ जना जना भने नेपाली सेनाका बिभिन्न पदमा समायोजन भए ।

शान्ति प्रक्रियामा आएसँगै बिभिन्न टुटफुटबाट गुज्रिएको माओवादी र तत्कालीन एमालेबीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको थियो ।

प्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको निर्णय गरेसँगै नेकपा पनि दुई खेमामा बिभाजित भएको छ । एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड–माधव नेपालले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*