काठमाडौंमा बर्डफ्लु भेटिएपछि मकवानपुरमा पशुपन्छि ढुवानीमा कडाई

बाइलाइन नेपाल
२९ माघ २०७७, बिहीबार १७:२२

हेटौंडा । काठमाडौंका विभिन्न स्थालमा पालन गरिएका पन्छिमा बर्डफ्लु देखापर्न थालेपछि पशुपन्छि ओसारपसारमा मकवानपुरमा कडाई गरिएको छ । प्रहरीले जिल्ला भित्र पनि पशुपन्छि ढुवानीमा कडाई गरेको हो । जिल्लाका विभिन्न स्थानीय तहबाट हेटौंडा ल्याइने पशुपन्छिको निरोगिताको प्रमाणपत्र खोज्न थालेको छ ।

माछामासु व्यवसायीले प्रहरीले अनावश्यक रुपमा दुःख दिन थालेको बताएका छन् । चेकजाँच र निरोगिताको प्रमाणपत्र माग्दै प्रहरीले जिल्ला भित्र ढुवानी गर्दा पनि रोक्न थालेको भन्दै व्यवसायीले आपत्ती जनाएका हुन् ।

माछामासु व्यवसायी संघका नारायण राजथलाले जिल्ला भित्र क्वारेन्टाइ नै छैन तैपनि केही दिन देखि प्रहरीले दुःख दिन थालेको बताए । संघ तथा व्यवसायीलाई कुनै जानकारी नै नदिई प्रहरीले एकलौटी रुपमा निरोगिताको प्रमाणपत्र खोज्दै जिल्ला भित्र पशुपन्छी ढुवानीमा अवरोध गरिरहेको आरोप लगाए । उनले बर्डफ्लुका लागि सचेतता अपनाउने भएपनि माछामासु व्यवसायी संघलाई जानकारी दिएरमात्र काम गर्न आग्रह गरे ।

व्यवसायीलाई जानकारी नै नदिई ढुवानीमा कडाई गरेर प्रहरीले दुःख मात्र दिएको आरोप छ । विशेषगरी इलाका प्रहरी कार्यालय पशुपति नगरले जिल्ला भित्रबाटै ढुवानी गरिएका पशुपन्छिको निरोगिताको प्रमाणपत्र खोज्ने र व्यवसायीलाई कुनै रसिद नै नदिई रकम लिएर छाड्ने गरेको गुनासो रहेको छ ।

बर्डफ्लु भित्रन नदिने योजना भए व्यवसायीलाई पनि समावेश गराएर सचेत गराउनु पर्नेमा दुःख मात्र दिन खोजिएको संघले जनाएको छ ।मकवानपुर कुखुराको मासु र अण्डामा आत्मनिर्भर जिल्ला हो ।

यसैबीच, काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।

केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘ र्यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए ।

केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*