कृष्णप्रसाद दाहालले फिर्ता गरेनन् सुविधाको गाडी

बाइलाइन नेपाल
२६ माघ २०७७, सोमबार १६:५९
फाइल तस्वीर

हेटौंडा । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन ठिक छ भन्दै आफ्नो कित्ता क्लियर गरेका नेकपा ओली समूहका नेता तथा विघटित प्रतिनिधि सभाका सांसद कृष्णप्रसाद दाहालले सुविधाको गाडी फिर्ता गरेका छैनन् ।

गतपुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि केही दिन कुनै समूहमा नखुलेका दाहाल अन्ततः ओली समूहमा गएका थिए । प्रतिनिधि सभाको अर्थ समितिका सभापति रहँदा प्राप्त गरेको सुविधाको गाडी दाहालले संसद विघटन भएको करिब दुई महिना पुग्नै लाग्दा पनि फिर्ता नगरेका हुन् । उनलाई संसद सचिवालयले प्रदेश ३–०१–००२ झ ४८७० नम्बरको स्कोर्पियो उपलब्ध गराएको थियो ।

‘दुईजना चालकबापत महिनाको ६० हजार रूपैयाँ संसद् सचिवालयबाट सम्बन्धित चालकको खातामा नै पैसा आउँथ्यो, अहिले आउन छाडेको छ,’अर्थ समितिका निवर्तमान सभापति दाहालले भने । उनले आफू काठमाडौंमा हुँदा मात्र संसद्को गाडी चढ्ने गरेको बताए । कागजमा फिर्ता नभए पनि गाडी फिर्ता भएसरह सचिवालयमै रहने गरेको जिकिर उनले गरे ।

‘गाडी त्यहाँ संसद् सचिवालयमा नै हुन्छ, काठमाडौं हुँदा मात्र कहिलेकाहीँ प्रयोग गर्छु,’ दाहालले भने, ‘तर बाहिर आउनुजानु परेमा भने गाडी त्यहीँ सचिवालयमा नै राख्ने गरेको छु ।’ उनले थपे–‘कतिपय पदाधिकारी साथीहरूले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नै रहेकाले गाडी फिर्ता नगरेको बताउने गर्नुभएको छ, मैले त्यस्तो भनेको छैन,’ दाहालले भने।

उनले काठमाडौंमा हुँदा मात्र संसदको गाडी चढ्ने गरेको भन्दै फिर्ता नगरेको पुष्टि गरेका छन् । तर उनले गृहजिल्ला जाँदा संसद सचिवालयले उपलब्ध गराएको गाडी नै प्रयोग गर्ने गरेका छन् । अहिले पनि निर्वाचन क्षेत्र देखि पार्टीको सभा सम्मेलनमा पुग्दा दाहालले सुविधा कै गाडी प्रयोग गर्ने गरेका हुन् । सुविधाको गाडी फिर्ता नगर्नेमा दाहाल मात्र एक्ला सभापति भने होइनन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार १८ जना पदाधिकारीहरूले गाडी बुझेकोमा सांसद निरूदेवी पालले मात्र गाडी फिर्ता गरेकी छन् । ‘१८ जना माननीय पदाधिकारीज्यूहरूले सुविधाबापत सचिवालयबाट बुझ्नुभएका सवारी साधनमध्ये महिला तथा सामाजिक समिति सभापति निरूदेवी पालले मात्र फिर्ता गर्नुभएको छ,’ सचिवालयका प्रवक्ता पाण्डेले भने, ‘बाँकी पदाधिकारीहरूले माघ २५ गतेसम्म गाडी फिर्ता गर्नुभएको रेकर्ड छैन ।’ -स्रोत लोकान्तर डटकम

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*