मकवानपुर उद्योग वाणिज्य संघमा चुनावी माहौल सुरु, अध्यक्षमा पाँच जनाको चर्चा
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघमा आगामी नेतृत्वका लागि चर्चा सुरु भएको छ । संघले निर्वाचन मिति तय गरेसँगै अध्यक्षसहितका पदमा उठ्नेहरुको चर्चा हुन थालेको छ । अध्यक्ष पदका आंकाक्षीहरुले कोठे बैठक देखि सार्वजनिक कार्यक्रम आयोजना गरेर आफ्नो पक्षमा माहौल बनाउन थालेका छन् ।
उद्योगीव्यवसायीको छाता संगठन मउवासंघको ५४ औं बार्षिक साधारणसभा तथा निर्वाचनबाट तीन बर्षीय कार्यकालका लागि लागि २०७७ चैत्र २१ देखि २३ गतेसम्म निर्वाचन मिति सार्वजनिक भएको छ । जसले गर्दा अध्यक्ष र अन्य पदका उम्मेदवारहरु व्यवसायीलाई आफ्नो पक्षमा ल्याउन शक्ति केन्द्रदेखि व्यवसायीसम्म धाउन थालेका छन् ।
मउवासंघको आगामी नेतृत्वका लागि ५ जनाको नाम चर्चामा रहेको छ । अध्यक्ष पदमा संघका निर्वतमान अध्यक्ष तथा केन्द्रीय सदस्य राजकुमार न्यौपाने, बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्वय रामप्रसाद न्यौपाने र कृष्णकुमार गुप्ता अग्रवाल र पूर्व महासचिव महेन्द्र राउतको नाम चर्चामा रहेको छ ।
पाँचै जना माहौल आफ्नो पक्षमा पार्न दौडधूपमा लागेका छन् । वस्तुगत संघका साधारण सभा तथा वनभोजदेखि व्यवसायीका कार्यक्रममा समेत पाँचै जना पुगेर आफु नेतृत्वका लागि सबल रहेको दाबी गरिरहेका छन् । सबै आंकाक्षी राजनीतिक दलको समर्थन लिन लागि परेका छन् ।
अध्यक्षमा चर्चा भएका रामप्रसाद न्यौपाने कम्युनिष्टहरुको तर्फबाट साझा उम्मेदवार बन्न लागि परेका छन् । यस्तै माधव न्यौपाने र महेन्द्र राउत नेपाली काँग्रेसबाट समर्थन लिन दौडधूपमा लागेका छन् । सबै पार्टीको समर्थन जुटाएर उम्मेदवार बन्ने दाबी राजकुमार न्यौपानेको छ भने राप्रपाको समर्थनमा कृष्णकुमार गुप्ता अग्रवाल अगाडि बढेका छन् ।

बाइलाइन नेपाल











