प्राधिकरणले कुलेखानी सञ्चालन गरेपछि दैनिक ३५ सेन्टिमिटर पानी घट्दै
पछिल्ला दिनमा विद्युतको माग पूर्ति गर्न कुलेखानी (इन्द्रसरोवर) जलासयको पानीको उपयोग बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले दैनिक ३५ सेन्टिमिटरसम्म कुलेखानीको पानी उपयोग गरेर बिजुली निकालिरहेको छ ।
भारतबाट करिब ८ सय मेगावाटसम्म विद्युत आयात भइरहँदा पनि माग व्यवस्थापन गर्न सकस परेपछि प्राधिकरणले ‘पावर ब्याकअप’ कुलेखानीको प्रयोग बढाएको हो ।
कुलेखानी जलविद्युत आयोजना धेरैजसो सुख्खायाममा मात्रै चलाइन्छ । अझ बेलुकीको लोड व्यवस्थापन गर्न १ सय ६ मेगावाटसम्म बिजुली निकाल्न सकिने भएकाले यो आयोजना उपयोगी हुने गरेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार गत मंगलबार प्राधिकरणले कुलेखानी चलाउँदा ३२ सेन्टिमिटर पानी घट्यो । त्यसअघि सोमबार ३५, आइतबार ३३ र शनिबार ५ सेन्टिमटर पानीको सतह घटेको थियो । त्यसयताको तथ्यांक भने अनलाइनखबरले प्राप्त गर्न सकेन ।
यो वर्ष कुलेखानी वर्षाको समयमै भरिएको थियो । कुलेखानीमा पानीको सतह मंगलबारसम्म १५१२.७८ मिटरमा झरेको छ । गत वर्ष सोही दिनमा कुलेखानीको सतह १५१६.७९ मिटर थियो । अर्थात् समीक्षा अवधिको तुलनामा कुलेखानीको सतह गत वर्षभन्दा करिब ४ मिटर कम छ।
तर, यो वर्ष भारतबाट थप बिजुली ल्याउन सक्ने गरी ४ सय केभीको प्रसारणलाइन र सबस्टेसन बनेकाले कुलेखानीको पानी बचाउन खासै महत्व नदिइएको प्राधिकरणका एक अधिकारी बताउँछन् ।
‘फेरि वर्षमा भरिहाल्छ, समस्या पर्दा भारतबाट थप बिजली ल्याउन हालसालै पूर्वाधार पनि बनेको छ,’ ती अधिकारी भन्छन्, ‘अत्यावश्यक पर्दा नै चलाउने भएकाले कुलेखानीको पानी जोगाउने नाममा लोडसेडिङ गर्न पनि सकिन्न ।’
यही दरमा पानी घटाउँदै लगे अबको वर्षातमा कम पानी परेर जलासय नभरिएमा आगामी वर्षमा चुनौती थपिनसक्ने उनको भनाइ छ । तर, अर्को वर्षसम्म साँझ र विहानको पिक आवरमा ४५६ मगावाटसम्म बिजुली दिनसक्ने माथिल्लो तामाकोसी पनि आइसक्ने र त्यसले कुलेखानीको महत्व कम हुने भएकाले प्राधिकरण यो वर्ष कुलेखानी प्रयोगमा उदार भएको उनले बताए ।- अनलाइनखबर डटकमबाट

बाइलाइन नेपाल











