एउटै व्यक्तविरुद्ध १७ वटा मुद्दा दर्ता

बाइलाइन नेपाल
२१ माघ २०७७, बुधबार ०७:५४

ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्।

विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका आधारमा १७ वटा मुद्दा दर्ता भएको थियो। न्यायाधीश ईश्वर पराजुलीको इजलासले १७ वटामध्ये १३ वटा मुद्दामा भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालका अनुसार पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा १३ थान मुद्दामा मन्टुलाई थुनामा राख्न आदेश भएको हो।

वादी नेपाल सरकार र प्रतिवादी मन्टु पक्षका कानुन व्यवसायीको बहस सकिएपछि चार थान मुद्दामा भने धरौटीवापत अदालतले रकम माग गरेको छ। दाहालले चार थान मुद्दामा पाँच लाख ८० हजार रुपैयाँ धरौटी अदालतले तोकेको जानकारी दिए।

धरौटी रकम नबुझाएका उनी अदालतको आदेश अनुसार १३ थान मुद्दामा भने सोमबार कारागार चलान भएको दाहालले बताए। उनका अनुसार जाहेरवाला ममतादेवी मण्डल वादी भएको मुद्दामा २० हजार, जाहेरवाला मो. सरिद मियाँ वादी भएको मुद्दामा दुई लाख, वादी राजेन्द्र चौधरी भएको मुद्दामा ४० हजार, जहेरवाला देवी खातुन वादी भएको मुद्दामा तीन लाख २० हजार रुपैयाँ धरौटी बुझाउन अदालतले आदेश दिएको छ।

मिटरब्याजमा लगानी गरी मन्टुले मोरङका १७ जना सर्वसाधारणसँग करोडौँ रुपैयाँ असुली गरेको अनुसन्धानबाट खुलेको थियो। १७ जनाको छुटाछुट्टै जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै उनीविरुद्ध माघ १२ गते ठगी र अपराधिक लाभ लिएको कसूरमा अदालतमा मुद्दा दर्ता गरेको हो।

आजको अन्नपूर्ण पोष्ट पत्र दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*