आजदेखि कोरोना भ्याक्सिन लगाउन शुरू

बाइलाइन नेपाल
१४ माघ २०७७, बुधबार ०७:३९
फाइल तस्वीर

काठमाडौं । सरकारले आज बुधवारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । यद्यपि, प्रधानमन्त्री ओली स्वयंले भने खोप लगाउनुहुनेछैन ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार सात प्रदेशका १२० ओटा केन्द्रमा खोप पुगिसकेको छ । सरकारले बुधवारदेखि नै देशभरका ३ सयओटा खोप केन्द्रबाट खोप अभियान शुरू गर्ने तयारी गरेको थियो । २८० केन्द्र तयार हुन बाँकी रहेको र कतै खोप पुग्न बाँकी रहेकाले योजनाअनुसारका केन्द्रबाट खोप अभियान शुरू गर्न नसकेको हो । आगामी आइतवारदेखि ३०० ओटा केन्द्रबाट खोप लगाइने खोप शाखाका निर्देशक गौतमले बताए ।

उनका अनुसार काठमाडौंमा १२ , भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप लगाउन शुरू गरिनेछ । काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ ओटा खोप केन्द्रबाट खोप लगाइनेछ । उपत्यकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, शहीद गंगालाल ह्दयरोग केन्द्र, भक्तपुर अस्पताल, किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, आनन्द वन अस्पताल र नेपाल एपीएफ अस्पतालमा खोप केन्द्र बनाइएको छ ।

नेपालले गत बिहीवार भारतबाट सहयोगस्वरूप १० लाख डोज खोप प्राप्त गरेको थियो । भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको कोभिडसिल्ड खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*