मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक
हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको निर्वाचन सम्वन्धी छलफल कार्यक्रमलाई दाहाल–नेपाल समूहको नेकपा र जसपाले बहिष्कार गरेका हुन् ।
बैठक स्थलमा पुगेका नेकपा र जसपाका नेताले असंवैधानिक रुपमा संसद विघटन गरेर तोकिएको निर्वाचन प्रक्रियामा भाग नलिने भन्दै बैठक बहिष्कार गरेका थिए । नेकपा मकवानपुरका संगठन विभागका सहसंयोजक कमानसिं पाख्रिनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले निर्वाचन सम्वन्धी कुनैपनि प्रक्रियामा भाग नलिने बताए । उनले बैठक सुरु हुनासाथ असंवैधानिक कदम विरुद्ध पार्टी सडकमा रहेकाले निर्वाचन प्रक्रियामा समावेश नहुने बताएका थिए ।
निर्वाचन कार्यालयले आयोजना गरेको बैठक बहिष्कार गर्ने भन्दै नेता पाख्रिनले संसद विघटनको मुद्दा अदालतमा विचाराधिन अवस्थामा राज्यले निर्वाचनका नाममा करोडौं रकम दुरुपयोग गर्न खोजेको आरोप लगाए । उनले गलत बाटोबाट हुन लागेको चुनावमा नेकपा सहभागी नहुने भन्दै बैठक स्थलबाट बाहिरीएका थिए । उनिसँगै नेकपाका जिल्ला सचिवालय सदस्य तिलक अधिकारी पनि बहिष्कार गरेर हिँडेका थिए ।
यसैगरी, जसपाका नेताहरुले पनि निर्वाचन कार्यालयको बैठक बहिष्कार गरेका छन् । उनिहरुले पनि असंवैधानिक कदम विरुद्ध पार्टी सडकमा रहेकाले निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका थिए । जसपाका जिल्ला नेता राजेन्द्र सिंखडा र सुरेन्द्र भट्टराईले बैठक बहिष्कार गरेका हुन् ।
बैठकमा जिल्लाका अन्य राजनीतिक दलका प्रमुख, स्थानीय निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











