राक्सिराङमा स्थानीय पाठ्यक्रम र अडियो नागरिक बडापत्र सार्बजनिक

बाइलाइन नेपाल
२७ पुष २०७७, सोमबार १९:३९

राक्सिराङ–राक्सिराङ गाउँपालिकाको नवौ गाउँसभाको उद्घाटन सत्रमा स्थानीयतालाई प्राथमिकता दिने दुईथरि बिषयलाई उजागर गरिएको छ ।सोमबार दिउँसो बागमती प्रदेश सभाका सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको गाउँसभामा स्थानीय भाषामा रेकर्ड गरिएका अडियो नागरिक बडापत्र सार्बजनिक गरियो ।

प्रमुख अतिथि ग्लानले सार्बजनिक गर्नु भएको चेपाङ, तामाङ र पर्वत खस भाषाका अडियोको सहायताबाट नागरिक बडापत्रमार्फत सेवाग्राहीहरुले सहज रुपमा सेवाका सम्बन्धमा जानकारी लिन सक्ने विश्वास गाउँपालिकाले गरेको अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।सोही अबसरमा गाउँपालिकाले कक्षा ५ सम्मका लागि तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पनि सार्बजनिक गरिएको थियो ।

गाउँसभाको उद्घाटन सत्रमा मन्तब्य राख्दै प्रमुख अतिथि सांसद ग्लानले राक्सिराङ गाउँपालिकाको विकासका लागि सबै राजनीतिक पार्टी, सरोकारवाला निकायहरुले साथ दिइरहेको बताउनुभयो । उहाँले सबैको सहयोगले मात्र विकास सम्भव हुने भएकाले गाउँपालिकाले गरिरहेका सिर्जनात्मक कामहरुले नागरिकहरुमा सन्तुष्टि देखिएको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का इन्चार्ज बनस्तम थिङले आलोचनात्मक टिप्पणी गर्नुभयो । उहाँले सबै वडामा समानुपातिक ढंगको विकास जरुरी रहेको बताउनुभयो । आफ्नो पार्टी नेपाली काँग्रेसका सभापतिले भने झैँ समग्र राम्रो काम भएको छ भन्ने निचोडमा नपुगेको उहाँको भनाई थियो ।

उहाँभन्दा अघि मन्तब्य राख्ने नेपाली काँग्रेस सभापति बीरेन्द्र जिम्बाले भने जनप्रतिनिधि आएपछि राक्सिराङको मुहार फेरिएको दाबी गर्नु भएको थियो । उहाँले खासगरी मोटरबाटो निर्माणमा गाउँपालिकाले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउनुभएको थियो ।

कार्यक्रममा वडाध्यक्ष बाबुलाल स्याङ्तानले राक्सिराङमा गाडी पुगेपनि गाडीको हुडमा राखेर बजारमा बेच्न लैजाने कृषि उपजको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । ‘गाडीको हुडमा राखेर दुई चार क्रेट गोलभेँडा र काउली मनहरीतिर जान थाल्यो भने मात्रै राक्सिराङ समृद्ध हुन्छ’, स्याङ्तानले भन्नुभयो–‘अन्यथा हामी उफ्रिएर मात्रै पनि हुन्न ।’

अर्का वडाध्यक्ष तथा प्रबक्ता रामकृष्ण प्रजाले राक्सिराङ गाउँपालिकाले सुशासन कायम गर्दै समग्र विकास निर्माणको नेतृत्व लिइरहेको बताउनुभयो ।शिक्षक महासंघको तर्फबाट अध्यक्ष मिथुन रुम्बाले शिक्षा क्षेत्रको सुधारका लागि बजेट सदैब अपूरो रहेको बताउनु भएको थियो भने समाजसेवी चित्रबहादुर थापाले गाउँपालिकाले गरेको सुधारका कामहरुको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारीहरु, शिक्षक, उपभोक्ता समितिका पदाधिकारीहरु, विभिन्न संघसंस्थाहरु, कृषि तथा पशु फर्म सञ्चालकहरुलाई प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सञ्चालन गर्नु भएको उद्घाटन समारोहमा स्वागत उपाध्यक्ष निर्मला हिमडुङले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*