प्रधानमन्त्री ओलीले जनमतको खिल्ली उडाएः कुमारी मोक्तान
हेटौडा । नेपाल कम्युनिष्ट पाटीर्का (नेकपा) केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला सहइन्चार्ज कुमारी मोक्तान प्रधानमन्त्री केपी ओलीले संविधान माथि ‘कु’ गर्दै जनमतको खिल्ली उडाएको बताएकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा वडा स्तरीय अगुवा नेता कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा नेता मोक्तानले प्रधानमन्त्रीले गरेको संसद विघटन गर्ने असंवैधानिक कदमको विरोध गर्न आग्रह गरिन् ।
संसद विघटन गरेर ओलीले जनता माथि धोका दिएको आरोप लगाउँदै आफ्नो असफलतालाई ढाकछोप गर्न झुटको खेती गरिरहेको उनले उल्लेख गरिन् । प्रधानमन्त्रीको अराजक, अराजनीतिक कदमले पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको नेता मोक्तानले बताइन् । उनले प्रधानमन्त्रीको असंवैधानिक कदम र अराजनीतिक विचारहिन कुतर्कको विरुद्ध एकभई संघर्षमा लाग्न अगुवा नेताकार्यकर्ताहरुलाई आग्रह गरिन्।
वडाध्यक्ष मानध्वज वाइबाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टी जिल्ला सचिव प्रेमबहादुर पुलामी, प्रदेश सदस्य ललित घलान, सूर्यचन्द्र न्यौपाने , कार्यलय सदस्य बद्री लम्साल , सचिवालय सदस्य मिना लामा ,विवेक राई ,भगवती पुडासैनी, तिलक अधिकारी, रामजी नेपाल , जिल्ला सदस्य सीता बिष्ट ,नगर अध्यक्ष रघु आचार्य ,सचिव तिर्थ थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी वडा नम्बर–१२ मा नगर सचिवालय सदस्य भुवन खनालको अध्यक्षतामा , वडा नम्बर–१४ मा वडा पार्टी अध्यक्ष तिलक मोक्तानको अध्यक्षतामा जिल्ला सचिव प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा वडा स्तरीय अगुवा नेता कार्यकर्ताहरुको प्रशिक्षण भेला भएको छ ।

बाइलाइन नेपाल











