चितवनमा कालो बेलुन उडाएर गृहमन्त्री बादलको विरोध

बाइलाइन नेपाल
२० पुष २०७७, सोमबार १६:५१

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृहजिल्ला चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता तथा समर्थकले कालो बेलुन उडाएर विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज गृहजिल्ला आएका गृहमन्त्री बादललाई विरोध स्वरुप उनीहरुले कालो बेलुन उडाएर प्रदर्शन गरेका हुन् ।

‘बादल लाल गद्दार, असंवैधानिक कू का मतियार’ लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ । आज एकै समय पारेर भरतपुरको छुट्टाछुट्टै स्थानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड नेपाल पक्षले भेलाको आयोजना गरेका छन् । केपी ओली समूहको कार्यक्रम स्थल जाने बाटो भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध नेकपा समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका थिए ।

नेकपा (प्रचण्ड-नेपाल) पक्ष समर्थकहरुले भरतपुरका विभिन्न कार्यालय, होटेल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन् । पूर्वमाओवादी केन्द्रबाट गृहमन्त्रीसमेत भएका बादल संसद् विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएपछि उनको विरोध भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*