वाग्मती प्रदेशमा कांग्रेसको साथ प्रचण्ड–नेपाललाई ! डोरमणि पौडेल डेन्जर जोनमा

बाइलाइन नेपाल
१३ पुष २०७७, सोमबार ०८:२६

हेटौंडा । वाग्मती प्रदेशमा नेकपाकै सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नयाँ सरकार निर्माणको साँचो प्रमुख प्रतिपक्ष कांग्रेसको हातमा पुगेको छ । दुवै प्रदेशमा कांग्रेसलाई साथ नलिइ नयाँ सरकार गठन हुन नसक्ने अवस्था सिर्जना भएको छ ।

नेकपाको घर झगडाका कारण एकाएक निर्णयक शक्ति बन्न पुगेको नेपाली कांग्रेसले प्रदेश सरकारमा कसरी आफ्नो मत प्रयोग गर्ने भनेर छलफल गरिरहेको छ । अहिले अविश्वासको प्रस्ताव दर्ता भएको वाग्मती र प्रदेश एकमा फरकफरक नीति लिने तयारीमा कांग्रेस पुगेको स्रोतले जनाएको छ । दुवै प्रदेशमा नयाँ सरकार गठन हुँदा कांग्रेसले रोजेको मन्त्रालयहरु पाउने निश्चित छ ।

मुख्यमन्त्रीहरू विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश नम्बर १ रवाग्मती प्रदेशमा नेपाली कांग्रेसले नेकपाका फरकफरक समूहलाई साथ दिने गरी रणनीति बनाउन लागेको छ। कुन प्रदेशमा कसलाई सहयोग गर्ने भन्ने निर्णय भने केन्द्रीय समितिबाटै हुने जनाइएको छ ।

वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध हुने गरी प्रचण्ड–माधव नेपाल समूहलाई साथ दिने पक्षमा पार्टी रहेको कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए । उनका अनुसार प्रदेश नम्बर एकमा ओली समूहलाई नै समर्थन गर्ने तयारीमा भइरहेको छ । तर यस सम्वन्धमा पार्टीले कुनै निर्णय गरिसकेको छैन । वाग्मती प्रदेशमा कांग्रेसले प्रचण्ड–माधव नेपाल समूहलाई साथ दिएमा नयाँ सरकार गठनका लागि बहुमत पुग्छ । अब मुख्यमन्त्री पौडेलको पद रहने र गुम्ने निर्णय काँग्रेसको हातमा पुगेको छ ।

नेकपाका प्रचण्ड–नेपाल समूहका सांसदले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रतिपक्षी दल कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले संसदीय दलको बैठकसमेत राखिसकेका छन्। प्रदेशको अवस्था हेरेर नेकपाका भिन्नभिन्न समूहलाई साथ दिनुपर्नेमा कांग्रेसका शीर्ष नेताहरू छन्।

वाग्मतीका मुख्यमन्त्री पौडेलविरूद्ध शुक्रबार अविश्वास प्रस्ताव दर्ता गर्दा भावी मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अघि सारिएको छ भने प्रदेश एकमा भावी मुख्यमन्त्रीमा भीम आचार्यको नाम प्रस्ताव छ।

वाग्मती प्रदेशको अवस्था

वाग्मती प्रदेशमा नेकपाको ८० जना सांसद रहेका छन् । अब वाग्मती प्रदेशमा ओलीतर्फका सांसद ३३ जना मात्र सांसद रहेका छन् । यसले वाग्मती प्रदेशमा प्रचण्ड – नेपाल समूह बलियो देखिन्छ तर नयाँ सरकार गठनका लागि दुवै समूहसँग प्रर्याप्त संख्या रहेको छैन ।

वाग्मती प्रदेश सभामा जम्मा १ सय १० जना सांसद रहेका छन् । नेकपा भित्रको किचलोले अब नयाँ सरकार निर्माणका लागि २२ सांसद रहेको नेपाली कांग्रेसको समर्थन अनिवार्य बन्ने देखिन्छ । नेकपाका सांसद दुई खेमामा विभाजित भएपछि काँग्रेस निर्णयक शक्ति बन्न पुगेको छ ।

प्रदेशमा नयाँ सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । जसका लागि प्रचण्ड–नेपाल समूहलाई काँग्रेसले साथ दिएमा सहज रुपमा बन्ने देखिन्छ । प्रचण्ड–नेपाल समूहमा ४५ र कांग्रेसको २२ जना सांसद एक भए नयाँ सरकार गठनका लागि आवश्यक बहुमत (६७ जना) पुग्ने देखिन्छ । प्रचण्ड–नेपाल समूहले अघि सारेको शाक्यलाई मुख्यमन्त्री बन्न आफ्नो बाहेक ११ मत आवश्यक पर्छ ।

ओली समूहलाई भने कांग्रेसले समर्थन गरेपनि अन्य साना दलको समर्थन आवश्यक पर्दछ । ओली समूहमा रहेको ३३ र कांग्रेसको २२ जना सांसद मिल्दा पनि ५५ जना मात्र पुग्छ । मुख्य मन्त्री पौडेल सत्तामा कायम रहनै लागि पनि अझै एक मत कम हुन्छ । जसले गर्दा एउटा साना दललाई पनि सरकारको समर्थनमा ल्याउनु पर्ने देखिन्छ । पौडेललाई मुख्यमन्त्री जोगाउन आफ्नो बाहेक २३ मत आवश्यक पर्ने देखिन्छ ।

प्रचण्ड–नेपाल समूह र ओली समूह दुवैले कांग्रेस बाहेकका दललाई साथमा लिएर सरकार बनाउन सक्ने अवस्था छैन । वाग्मती प्रदेशमा नेकपा र कांग्रेसबाहेकका दलसँग ८ सांसद मात्र छन् । साझा विवेकशीलका ३, मजदुर किसान पार्टी र राप्रपाको २÷२ तथा स्वतन्त्र एक सांसद छन् । यी ८ सांसदले साथ दिँदा पनि नेकपाका दुबै समूहमा बहुमत नपुग्ने भएपछि अबको सरकार निर्माणमा कांग्रेसको मत निर्णयक हुने देखिन्छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*