देउवाले साथ दिएको आशंका

बाइलाइन नेपाल
४ पुष २०७७, शनिबार ०७:५७

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिका कारण हुन सक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन दिउँसो माइतीघर पुगेका पौडेल त्यहींबाट दाहाल र नेपालसँग भेट्न कोटेश्वर पुगेका थिए। स्रोतका अनुसार दाहाल–नेपालले कांग्रेस सभापति देउवाको भूमिका शंकास्पद रहेको भनाइ पौडेलसँग राखेका थिए । प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेलगत्तै बसेको पहिलो बैठकबाट अख्तियारलगायत आयोगहरूमा पदाधिकारी सिफारिस गरिएको र संसदीय सुनुवाइ समितिबाट पारित हुने निश्चित नभएपछि सार्वजनिक नगरिएको बुझाइ दाहाल–नेपाल पक्षको थियो ।

‘ओलीले अध्यादेश फिर्ता नलिएपछि हामीलाई देउवाजीको भूमिकामा पनि आशंका छ,’ दाहाल–नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीजी कतिसम्म अघि बढ्छन् थाहा छैन तर पछि हट्ने संकेत देखिएको छैन ।’

प्रधानमन्त्रीको बालुवाटारस्थित सचिवालयले अध्यादेश जारी गर्नमा प्रमुख प्रतिपक्षी दलको नेताले समेत स्वीकृति दिएको भनेर अनौपचारिक रूपमा जानकारी गराएका कारण पनि दाहाल–नेपाल पक्षलाई सशंकित बनाएको स्रोतले बतायो । पौडेलले संविधान, कानुनविपरीतका निर्णय र कदमलाई सभापतिको चाहनाले मात्रै साथ दिन नसक्ने बताएका थिए । संसद्को विशेष अधिवेशन बोलाउन कांग्रेसले यसअघि गर्दै आएको पहल कार्यान्वयनमा नआएको विषयमा समेत छलफलमा चर्चा भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*